चितवन, फागुन १२ । गृहमन्त्री रामबहादुर थापाले भरतपुरको गोन्द्राङमा रहेको ढाँट हट्ने बताएकाछन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र काठमाडौँद्वारा रत्ननगर उद्योग वाणिज्य संघमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवद्र्धन’सम्बन्धी तालीमको आज शुभारम्भ गर्दै उनले भने “तपाईहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ।”
गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताए। सुखी नेपाली समृद्ध नेपाल वनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको उनले बताए।

गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए। उनले भने, “सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालयले काम गरिरहेको छ। प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ।”

पाँचदिने सो तालीमको उद्योग वाणिज्य सङ्घ रत्ननगरले सहजीकरण गरेको हो। सङ्घका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणालगायतले तालिमको महत्वमाथि चर्चा गरेका थिए।


























