चितवन, फागुन १० । चितवन राष्ट्रिय निकुञ्ज र माडीवासीबीचको द्वन्द्व निरन्तर चलिरहेको छ। निकुञ्ज आसपासका जनता वन्यजन्तुबाट प्रताडित हुनु परेको भन्दै माडीवासीले राष्ट्रिय निकुञ्ज ऐन शंसोधनको माग राख्दै वर्षौँदेखि नै विभिन्न तरिकाबाट आन्दोलन गर्दै आएका छन्। माडीवासीले यस विषयमा सरकारलाई ज्ञापनपत्र पेश गर्ने, प्रधानमन्त्रीलाई भेट्ने, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनेलगायतका सबै खालका गतिविधि गरिसकेका छन्।
तर, सरकार सुनेको नसुन्यै गरेर बसेको छ। गएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ताका नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल (प्रचण्ड)ले माडीलाई ‘मणि’ बनाउने र जगतपुरबाट माडीसम्मको बाटोमा आकाशे पुल निर्माण गर्नेलगायतका ठूला आश्वासन दिए। तर, माडीवासीले जिताएर पठाएको प्रचण्डबाट दुईवर्ष बितिसक्दासमेत आश्वासनको ‘आ’ पनि भएको छैन। तर, साविकको चारवटा गाविसलाई समायोजन बनेको माडी नगरपालिकाले भने निकुञ्ज ऐन शंसोधनको लागि अझै आवाज कमजोर बनाएको छैन।
उनीहरूले निकुञ्ज ऐन शंसोधनसहित वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्ने आवाज झनै बुलन्द पार्दै आएका छन्। यो विषयमा माडीका नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले पनि जनतालाई साथ दिने भन्दै जनताकै पक्षमा काम गर्ने आश्वासन दिँदै आएका छन्। ‘सरकारले माडीवासीको आवाज नसुने आफैँ पनि आमरण अनशन बस्छु’ भन्दै पटकपटक अनशन बस्ने चेतावनीसमेत दिए। तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित मेयर ढकालले अनशन बस्ने चेतावनी दिँदै आए पनि पार्टी अध्यक्षको दबाबमा गल्दै आएका छन्, जसकारण मेयर ढकालकाे अनशन बस्ने कुरा ‘स्यालकाे कथा’ भनेजस्तै भएकाे छ।

अन्तिम पटक उनले गत बुधबारबाट अनशन बस्ने भनेर मिति नै घोषणा गरेका थिए। अन्ततः अन्तिम चरणमा आएर सरकारसँग छलफल गर्ने भन्दै विज्ञप्ती निकालेर अनशन स्थगित गरेको सूचना सार्वजनिक गरे। त्यसपछि भने माडीवासीलाई मेयरको यो भनाइप्रति पनि विश्वास घट्न थालेको छ। मेयर ढकालले पटकपटक अनशन बस्ने कुरा गर्दै स्थगित गर्दै गरेपछि मेयर ढकालका अगाडि वडा नं. १ का अध्यक्षले साँच्चैको अनशन थालेका छन्।
मेयर ढकाल अनसनबाट पछि हटेपछि राष्ट्रिय निकुञ्ज ऐन–२०२९ संशोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मानव र वन्यजन्तुको द्वन्द्व निवारणका लागि ठोस् रुपमा वन र मानव बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, रिउ खोला करिडोरको निर्माण व्यवस्थित गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा क्षेतिपूर्ति व्यवस्था गर्नुपर्ने, भरतपुर–माडी सडक चौबीसैभण्टा सुचारू गर्नुपर्नेलगायतका माग राख्दै माडीवासीका लागि विगत चारदिनदेखि वडाअध्यक्ष कृष्णप्रसाद पौडेल अनशन थालेका हुन्। उनले समग्र माडीवासीकाे प्रतिनिधित्व गर्दै अनशन बसेकाे बताएका छन्।

कांग्रेसद्वारा जीवन रक्षाको माग
चार दिनदेखि वडाअध्यक्ष पौडेलले अनशन थालेपछि शनिबार नेपाली कांग्रेस चितवनले वडाअध्यक्षको जीवन रक्षाको माग गरिदिन सरकारसँग माग गरेको छ। माडीवासीको लागि निकुञ्ज ऐन संशोधनको माग गर्दै आमरण अनसनरत वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले उनको जीवन रक्षाको माग गरेको हो। नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस चितवनले माडीबासीको माग सम्बोधनको लागि अनशनरत वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्दछौँ।’
‘अनशनरत नेपाली कांग्रेसका स्थानीय नेता एवम् माडी नगरपालिकाका वडा अध्यक्ष पौडेलको स्वास्थ्यअवस्था कमजोर बन्दै गएकोले जनसमुदायको समस्याप्रति सरकारकै अग्रसरतामा समस्या समाधान गरी अनसनरत पौडेलको जीवन रक्षा गर्न सरकारसँग समक्ष जोडदार माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ। माडीवासीको मागप्रति सरकार गम्भीर नभएमा कांग्रेस चितवन कडारुपमा प्रस्तुत हुनेसमेत चेतावनी दिएको छ।
‘उक्त घटनाक्रमबाट सिर्जना हुने परिणामको जिम्मेवार स्वयम् राज्य पक्ष नै हुनुपर्नेछ,’ विज्ञप्तीमा भनिएको छ। यही विषयलाई लिएर नेपाली कांग्रेस चितवनले माडीबासीको तर्फबाट अनशनस्थल माडी नगरपालिकाको वडा नं. १ अगाडिको हुलाकी सडकमा शनिबार दिउँसो एक घण्टा चक्का जामसमेत गरेको थियो।


























