काठमाडौं, फागुन ५ । पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन्। जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महारालाई सोमबार सफाइ दिएको हो।
न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।”
मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए। संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए।
करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको थियो।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।
निर्दोष ठहरिएसँगै महरा १३४ दिनपछि घर फर्किनेछन्।


























