चितवन, फागुन ५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले केपी ओली नेतृत्वको सरकार पूर्णरूपमा असफल भएको दाबी गरेका छन्। ‘दुईवर्षसम्म कुर्सीमा बसेकोलाई पनि ठूलो उपलब्धी ठानेको छ,’ सोमबार नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधीले भने, ‘त्यसैले यो सरकार पूर्णरूपमा असफल भएको छ।’
देशको आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण, अन्तर्राष्ट्रिय नीति, सीमा विवाद, बलात्कारका घटना, वाइडबढी जहाज, सुनकाण्ड, गोकर्ण रिसोर्टलगायत काण्डैकाण्डको जालोमा फसेकोले सबै पक्षलाई केलाउँदा वर्तमान सरकार पूर्णरूपमा असफल बनेको उनको भनाइ छ।

असफल नै भए पनि प्रतिपक्षी दलको तर्फबाट सरकार ढाल्ने कुनै योजना नरहेको उनले स्पष्ट पारे। ‘हामी आउँदो निर्वाचनको लागि कसरी जाने भन्ने विषयमा मात्रै केन्द्रित छौँ,’ उनले भने, ‘त्यसैले अहिले नै सरकार फेर्ने हाम्रो रूचिको विषय नै होइन। कसैले सरकार ढाल्ने खेलमा लागेको छ भनेर भन्छ भने त्यो कांग्रेसको कुरा होइन, नेकपाभित्रकै अन्तरद्वन्द्व हो।’
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा कुरा गर्दै पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका नेता निधीले भने, ‘एमसीसी नेपाली कांग्रेसकै सरकार भएको समयमा सम्झौता भएको हो, त्यसैले यसलाई जतिसक्दो चाँडो पारित गर्नुपर्छ।’ एमसीसी देशको हितमा रहेकोले यसलाई पारित गर्नमा नेपाली कांग्रेसले सरकारलाई झक्झक्याइरहेको उनले बताए।






















