काठमाण्डौं, फागुन ४ । चीनको हुबेइ प्रान्तको वुहानसहितका शहरबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ। विद्युत प्राधिकरणको भवनमा चीनबाट ल्याइएका १७५ जना नेपालीलाई राख्नका लागि क्वारेन्टाइन सेन्टर बनाइएको हो।
आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभूवन विमानस्थलमा अवतरण भएको नेपाल एयरलाइन्सको विमान मार्फत ल्याइएका नेपालीहरुलाई खरिपाटीमा लगिएको हो।
क्वारेन्टाइन सेन्टरमा इन्टरनेटको व्यवस्था छैन। तर त्यहाँ रहेकाहरुलाई मनोरञ्जनका लागि ब्याडमिन्टन, चेस, क्यारिमबोर्ड, टेलिभिजन, लुँडोको व्यवस्था गरिएको खरिपाटी क्वारेन्टाइन सेन्टरमा खटिएका सरकारी अधिकारीले बताएका छन्।
नेपाली सेनाका डाक्टरको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई २४ घण्टा नै निगरानी गर्ने छ। दिनको दुईपटक स्वास्थ्य जाँच हुने र संक्रमण वा अरु बिरामी भएको पाइएमा तुरुन्तै अस्पताल लैजाने व्यवस्था रहेको छ। क्वारेन्टाइन सेन्टरको बाहिरी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ।
क्वारेन्टाइन सेन्टरमा रहेकाहरुका लागि बिहान ६ देखि ७ र दिउँसो ३ देखि ४ बजेसम्म गरी दुई पटक खाजाको व्यवस्था तथा बिहान ११ तथा बेलुका सात बजे खानाको व्यवस्था रहेको जनाइएको छ।
वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जना लिएर विमान आएको थियो। विमानमा नेपालबाट गएका १७ जनासहित १३५ पुरुष र ४० जना महिला नेपाल आएका हुन्।
नेपालबाट चीनमा रहेकाहरुलाई लिन गएका र सोही विमानमा आएकाहरुलाई छुट्टै भवनमा क्वारेन्टाइनमा राखिएको छ। सबैलाई दुई हप्ता निगरानीमा राखिने जनाइएको छ।


























