फागुन ३ । एउटा विशाल क्षुद्रग्रह (एस्टेरोइट) आज नेपाली समय अनुसार अपरान्ह ४ बजेर ५० मिनेटमा पृथ्वीको सबैभन्दा नजिक हुँदै जानेछ। १४४३ फिटदेखि ३२४८ फिटबीचको आकारको उक्त ग्रहले पृथ्वीलाई कुनै हानी भने पुर्याउने छैन।
आकारको तुलना गर्दा यो कुनै विशाल गगनचुम्मी भवन आकारको रहेको नासाका विज्ञले बताएका छन्।
नासाको ‘सेन्टर फर निअर अर्थ अब्जेक्ट स्टडिज’का अनुसार क्षुद्रग्रहबाट पृथ्वीलाई खतरा पुग्ने छैन। क्षुद्रग्रह पृथ्वीबाट झण्डै ५७ लाख ७७ किमी टाढा हुदैं जानेछ। नासाका अनुसार यो दुरी पृथ्वी र चन्द्रमाबीचको दुरीभन्दा १५ गुणा बढी हो।
२००२ पीजेड ३९ नाम दिइएको उक्त क्षुद्रग्रह अगस्ट २००२ मा पत्ता लागेदेखि वैज्ञानिकहरुको निगरानीमा रहेको छ।
माइनर प्लानेट सेन्टरले २००२ पीजेड ३९ लाई पृथ्वीका लागि ‘सम्भावित खतराना क्षुद्रग्रह’को सुचिमा राखेको छ। पृथ्वीबाट ७४ लाख किमीको दुरीमा पर्ने ४९२ फिटभन्दा ठूला आकारलाई सम्पूर्ण आकासीय पिण्डलाई ‘सम्भावित खतरा’को सुचिमा राख्ने प्रचलन छ।
आइतबार र सोमबार केही थप क्षुद्रग्रहहरु पृथ्वीको नजिकबाट जाँदैछन्। घरदेखि हवाईजहाज आकारका ती आकाशीय पिण्डमध्ये सबैभन्दा नजिक भएर जाने क्षुद्रग्रह सोमबार पृथ्वीभन्दा २२ लाख ४२ हजार किमीको दूरीबाट जानेछन्। तीमध्ये कुनैबाट पनि पृथ्वीमा खतरा पुग्ने छैन।
पृथ्वीको नजिक रहेको आकाशीय पिण्डको अध्ययनको अतिरिक्त नासा र अन्य एजेन्सीले अहिले पृथ्वीको नजिक रहेको क्षुद्रग्रहको अध्ययन गर्न थालेका छन्। यी अध्ययनको उद्देश्य पृथ्वीतर्फ आउने आकाशीय पिण्डलाई आकाशमै नष्ट गर्नु हो। एजेन्सी


























