काठमाडौं, फागुन २ । चालू आर्थिक वर्षमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको देखिएको छ। केही बैंकहरुले खराब कर्जा घटाए पनि अधिकांशको बढेका कारण औसतमा खराब कर्जा प्रतिशत बढेको हो। आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा २८ वाणिज्य बैंकहरुको खराब कर्जाको अवस्था औसतमा १ दशमलव ५४ प्रतिशत थियो।
सञ्चालनमा रहेका २८ मध्ये ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल मिलेर एक भएका छन्। हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको खराब कर्जा बढेर चालू आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा १ दशमलव ६३ प्रतिशत पुगेको छ। खराब कर्जा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ। मुलुकमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै मूनाफा कमाउने बैंकको नै खराब कर्जा उच्च देखिएको छ। खराब कर्जा घटाउनुपर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अझ बढेको छ।
गत आर्थिक वर्षको ६ महिनामा ३ दशमलव ४० प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर चालू आर्थिक वर्षको ६ महिनामा ४ दशमलव ७७ प्रतिशत पुगेको छ। बहुमत सेयर नेपाल सरकारको रहेको कृषि विकास बैंकको पनि खराब कर्जा उच्च देखिन्छ। यद्यपि, यो बैंकले खराब कर्जामा सुधार भने गरेको छ। गत आर्थिक वर्षको ६ महिनामा ४ दशमलव ५० प्रतिशत रहेको खराब कर्जा घटाएर कृषि विकास बैंकले ३ दशमलव ९१ प्रतिशतमा झार्न सफल भएको छ। सरकारी लगानी रहेका दुई बैंकपछि खराब कर्जा धेरै हुनेमा निजी क्षेत्रको लगानी रहेको प्रभु बैंक देखिएको छ।
खराबकर्जा धेरै हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक चौथो नम्बरमा देखिन्छ। यस अवधिमा यो बैंकको खराब कर्जा २ दशमलव ९० प्रतिशत छ। गत वर्षको सोही अवधिमा २ दशमलव ०४ प्रतिशत रहेको खराब कर्जा बैंकको बढेको हो। ग्राण्ड तथा किष्ट बैंकजस्ता डुब्नै लागेका बैंकलाई गाभेको प्रभु बैंकको खराब कर्जा यस अवधिमा ३ दशमलव १२ प्रतिशत देखिएको छ। यो बैंकको खराब कर्जा गत वर्ष सोहि अवधिमा २ दशमलव ४७ प्रतिशत थियो।
अर्को खराब कर्जा धेरै हुनेमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंक पाँचौ नम्बरमा देखिएको छ। यो बैंकले खराब कर्जामा केही सुधार भने गरेको छ। गत वर्षको ६ महिनामा ३ दशमलव ५३ प्रतिशत रहेको खराब कर्जा एनसीसीले घटाएर चालू आर्थिक वर्षको ६ महिनामा २ दशमलव ८२ प्रतिशत कायम गर्न सफल भएको छ।
बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जाको सूचीमा राख्नुपर्छ। जसलाई निस्क्रिय कर्जा वा खराब कर्जा (एनपीएल) भनिन्छ। ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जाअन्तर्गत राखिन्छ। सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ।
कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ। बैंकहरुको खराब कर्जा औसतमा बढे पनि ५ प्रतिशतभन्दा कम रहेकाले जोखिमयुक्त मानिन्छ।
‘डराउनु पर्ने अवस्थामा छैन’
अहिले नेपालका बैंकहरुको खराब कर्जाका कारण डराउनु पर्ने अवस्था भने नरहेको पूर्व बैंकर अनलराज भट्टराई बताउँछन्। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यो महिनाको ६ महिनामा बढेको देखिए पनि यसले आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उनले बताए। अन्य देशहरुको तुलनामा नेपालको खराब कर्जाको अवस्था एकदमै राम्रो रहेको उनले बताए। ‘अहिले खराब कर्जा बढेको छ, तर थोरै मात्रै बढेको छ यो ठूलो कुरा होइन,’ उनी भन्छन्, ‘थोरै थपघट त भइहाल्छ नेपालमा, जति छ त्यो एकदमै कम नै हो, डराउनुपर्ने अवस्था छैन।’
अहिले खराब कर्जा बढ्नुको कारण नगद प्रवाहमा आएको कमी पनि एउटा कारण हुने उनले बताए। उनले भने, ‘सामाग्री बनिसकेपछि जति समयमा नगद आउँथ्यो, त्यो अहिले ढिलो हुने गरेको छ, नगद प्रवाह अलि ढिला भएका कारण समयमा कर्जा चुक्ता हुन सकेको छैन।’
पछिल्लो समय बैंकको कर्जा समयमा नवीकरण नहुने गरेका कारण पनि थोरै खराब कर्जा बढेको देखिएको भट्टराईले बताए। उनले पछिल्लो समय बैंकको कर्जा लगानी धेरै भएको र यसमा भने एनपीएल बढ्न सक्ने बताए। पहिलो कुरा कर्जा लगानीकै बेला पनि बैंकले ध्यान दिनुपर्ने उनले बताए।


























