काठमाडौं, फागुन १ । रुघाखोकी र ज्वरो फैलिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाउँका बिरामीको नमुना परीक्षण गर्न काठमाण्डौ ल्याइने भएको छ। नमुना लिन काठमाण्डौंबाट डाक्टरसहितको टोली गुम्बा गाउँ गइसकेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।
काठमाडौंको टेकुस्थित प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्रै रोगबारे थप पुष्टि हुनेछ। रुघाखोकी र ज्वरो देखिएका तीनसय जना बिरामीमध्ये दुई जना बालबालिकाको अवस्था गम्भीर छ। अहिले एक जना डाक्टरसहितको टोलीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गरिरहेको छ।
डाक्टरकै सल्लाहमा ती दुई बालबालिकालाई गाउँमै राखेर उपचार थालिएको पनि अध्यक्ष श्रेष्ठले बताए। रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा थप औषधि र सातसय वटा मास्क (मुखावरण) पठाइएको छ। मास्कको अभाव भएकाले सहयोगका लागि जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले आग्रह गरेका छन्।


























