चितवन, फागुन १ । करिब तीन करोड रूपैयाँको लागतमा निर्माण गरिएको ‘अम्ब्रेला स्ट्रिट’ आज बिहीबार उद्घाटन हुँदैछ। भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा निर्माण गरिएको स्ट्रिट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम छ।
भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको एक करोड, भरतपुर महानगरपालिकाको तर्फबाट एक करोड ५० लाख र सोही वडाबाट ५० लाख रूपैयाँ गरी तीन करोड रूपैयाँ लागतमा स्ट्रिट तयार गरिएको हो। विश्वका शहरसँगै रहेका समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्न अम्ब्रेला स्ट्रिट बनाउने गरिन्छ। ‘नेपालमा पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारणाअनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको हो,’ उनले भने।
करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता राखिएका छन्। दुईवटा फुडकोर्ट, एउटा आइस्क्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यू–प्वाइन्ट, रेष्टुरेन्ट, डेटिङ प्वाइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ आदि निर्माण गरिएको उनले बताए। अम्ब्रेला स्ट्रिट क्षेत्रभित्र भन सवारीसाधन चलाउन रोक लगाइएको छ। ‘पर्यटक जाने हुँदा यसभित्र सवारीसाधन गुडाउन पाइने छैन,’ अध्यक्ष महतोले भने, ‘किनकि सवारीसाधन चलाउन दिइयो भने पैदल घुम्न आउनेलाई समस्या हुन्छ।’
स्ट्रिट निर्माण भएसँगै भरतपुर महानगरपालिकाले पनि चितवनमा पर्यटक प्रवर्द्धनमा थप टेवा पुग्ने आशा व्यक्त गरेको छ। ‘अम्ब्रेला स्ट्रिट तयार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरेका छौँ,’ प्रमुख रेनु दाहालले भनिन्, ‘पर्यटन क्षेत्रमा नयाँ अभ्याससहित अम्ब्रेला स्ट्रिट बनाइएकोले यहाँ आउने पर्यटकलाई बसाइँ लम्भ्याउन सक्ने वातावरणको सिर्जना भएको छ।’
यस क्षेत्रमा पर्यटकका सहजताको लागि साना–ठूला गरी करिब ३० भन्दा बढी होटलहरू सञ्चालनमा छन्। यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गराउने व्यवस्था समेत मिलाइएको छ। साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ। थारु, बोटे र मगरजस्ता समुदायको सांस्कृतिक विविधता रहेको यस क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज अवलोकनसँगै सूर्यास्तको दृश्यसमेत देख्न सकिन्छ।
फुड फेस्टिबल पनि आजबाट
अम्ब्रेला स्ट्रिटको प्रवर्द्वनका लागि फूड फेस्टिबलसमेत आयोजना गरिएको छ। फेस्टिबलमा स्थानीय खानाका २० वटा स्टल रहेका छन्। फूड फेस्टिबल प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईँका अनुसार फागुन ३ गतेसम्म चल्ने फेस्टिबलमा सांगीतक कार्यक्रमसमेत आयोजना गरिएको छ।
आज पहिलो दिन चर्चित गायक गायिकाहरू मिलन लामा, टिका सानु, स्मिता दाहाललगायतले प्रस्तुती दिने छन्। दोस्रो दिन पशुपति शर्मा, दुर्गेश थापा, सागर आले, साजन आले, दिनेश काफ्लेलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ भने अन्तिम दिन शान्तिश्री परियार र कटाब ब्याण्डको प्रस्तुती रहने उनले बताए।
पटिहानी क्षेत्रमा आउने पर्यटकका लागि फेस्टिबलको अवधिमा विशेष प्याकेजहरु समेत घोषणा गरिएको छ। अम्ब्रेला स्ट्रिटको समुद्घाटनको दिन आज पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य संघ चितवनको परिषरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, फेस्टिबल अवधिभर डुंगा सयर, गाडा सयर, हात्ती र जीप सफारीको समेत व्यवस्था गरिएको छ।






















