काठमाडौँ, माघ २८ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ। आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले आज रातिदेखि अनिवार्य अवकाश लिन लागेका खनाललगायत प्रहरी अधिकृतहरुलाई साँझ एक समारोहका बीच बिदाइ गरिएको हो। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले खनाललाई बिदाइ गरेका हुन्।
जाँदाजाँदै महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गाले पनि विभिन्न खालका आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिए। आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै उनले दुखेसोसमेत व्यक्त गरे। नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले भने सङ्गठनको नेतृत्व लिएर वर्तमान प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा गरेको कामको खुलेर प्रशंसा गरे।
प्रहरी महानिरीक्षक खनालले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम ल्याएर समाज र प्रहरीलाई जोड्ने काम गरेको बताए। आगामी दिनमा सङ्गठनलाई चलायमान गराउन सबैको साथ र सहयोगको समेत अपेक्षा राखे। अवकाश लिएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको समेत आजै बिदाइ गरिएको छ। –रासस


























