सिड्नी, माघ २७ । अष्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा भएको छ जसका कारण बाढीको स्थिती पैदा भएको छ।
राष्ट्रिय मौसम विभागले पछिल्लो चार दिनमा ३९१.६ मिलीमिटर वर्षा भएको र यसले विनासकारी बाढीको स्थिती पैदा हुनसक्ने चेतावनी दिएको छ। करिब एक लाख घरमा बिजुती आपूर्ती बन्द भएको छ।
यद्यपि, उक्त वर्षाले केही महिनाअघि देखि लागिरहेको दुई ठूला डढेलो भने निभाउन सफल भएको छ। साओलह्याभेन शहरमा कुरोवान डढेलो ७४ दिनसम्म लागिरह्यो। जसका कारण पाँच लाख हेक्टर जमिन र ३ सय १२ घर जले।
सिड्नीको उत्तर पश्चिमको गोस्पर माउन्टेनमा गत अक्टोबरदेखि लागेको डढेलोलाई नियन्त्रण नै गर्न नसकिने ठूलो डढेलोको संज्ञा दिइएको थियो। मौसम विज्ञान विभागले डढेलो लागेका स्थानमा बाढीको चेतावनी दिएको छ।
न्यू साउथ वेल्समा अझै ३१ स्थानमा डढेलो लागिरहेको छ तर तीमध्ये कुनै पनि तत्कालका लागि भयानक छैनन्। विगत लामो समयदेखि खडेरीसँग जुधिरहेको उक्त स्थानमा वर्षा पछि राहत महसुस गरिएको छ। एजेन्सी


























