काठमाडौं, माघ २६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा कांग्रेसले आइतबार पनि संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसद सञ्चालनमा सहयोग मागेका हुन्।
यसअघि दुई पटकसम्म संसद अवरुद्ध गर्दा आफूले कांग्रेसको कुरा गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताएका हुन्।
‘यो विषय अदालतमा गइसकेको छ। यहाँबाट निरुपण हुन सक्दैन भन्ने कुरा स्वत स्पष्ट’ उनले भने, ‘यो सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले आफ्नो सरोकार दलका भनाइ राख्नु पनि पर्छ तर दुई दिनसम्म तपाईहरुले राख्नु पनि भएको छ। एउटा सन्देश गइ पनि सकेको छ।’
जनप्रतिनिधिमूलक थलो संसदलाई गतिशील र चलायमान बनाइराख्नुपर्ने भन्दै सभामुख सापकोटाले कांग्रेसलाई आफ्नो सरोकार संसदको विशेष समयमा राख्न पनि सुझाव दिए।
सभामुख सापकोटाले आइतबार कांग्रेस सांसदहरुलाई बोल्न समय पनि दिएनन्। कांग्रेस सांसदको अवरोधकै बीच नेकपा सचेतक शान्ता चौधरीले पनि बोल्न समय मागेकी थिइन्, तर सभामुख सापकोटाले समय दिएनन्।
सभामुखको आग्रहपछि पनि कांग्रेस सांसदहरु आफ्नो सिटमा नबसी संसद अवरुद्ध गरेपछि सापकोटाले संसद बैठक माघ २८ गतेसम्म स्थगित गरेका छन्।






















