सिन्धुली, माघ २४ । तपस्वीको रुपमा चिनिँदै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न गएको प्रहरीले उनका निकटतम सहयोगी ज्ञानकुमार भोमजनलाई नियन्त्रणमा लिएको छ। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बमजन भने फरार भएका प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधका आधारमा शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सिन्धुलीस्थित बमजनको आश्रममा सर्च अपरेशन चलाएको थियो।
खोजीका क्रममा बमजन फेला नपरेपछि आश्रममा ‘तोपचेन’ नामले चिनिने ज्ञानकुमार भोमजनलाई ‘बोलाएर ल्याइएको’ सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलले जानकारी दिइन्।
‘सर्लाही प्रहरीको अनुरोधमा हामीले शुक्रबार बिहानैदेखि आश्रममा सर्च अपरेशन चलाएका थियौं। खोजीका क्रममा बमजन नभेटिएपछि उनका निकट सहयोगीलाई बोलाएका छौं,’ एसपी सिग्देलले भनिन्, ‘अहिले बमजनका सहयोगीसँग सोधपुछ भइरहेको छ।’
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले शुक्रबार बिहानदेखि कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा खोजी शुरु गरेको थियो। खोजीका क्रममा अनुयायीहरुले ‘असहयोग’ गरेपछि बमजनलाई फेला पर्न नसकिएको आश्रम पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक अधिकारीले जानकारी दिए।
बम्जनमाथि व्यक्ति बेपत्ता पारेको, महिला अनुयायीमाथि जबरजस्ती करणी गरेकोलगायत आरोप छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको निवेदनानुसार जिल्ला अदालत सर्लाहीले बिहीबार मात्रै बम्जनलाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो।
प्रहरीले गित डेढ वर्षदेखि बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ। गत वर्ष नै बम्जनविरुद्ध आश्रमका केही महिला अनुयायी (आनी) सहितका व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको थियो।
बम्जनविरुद्ध नुवाकोटकी कर्मा तामाङ, सर्लाहीकी रिता बोट, मकवानपुरकी फूलमाया रुम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवालाई बेपत्ता पारेको आरोप छ।

























