काठमाण्डौ, माघ २४ । नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले आज पनि संसदको अवरोध कायमै राख्ने निर्णय गरेको हो।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित कांग्रेसले यसलाई राजनीतिक प्रतिशोधको कमद भन्दै बिहीबार सदन चल्न दिएको थिएन। आज पनि बैठक चल्न नदिने कांग्रेसले निर्णय गरेको हो।
संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताए।
‘कांग्रेसका नेताहरुलाई छानीछानी मुद्दा लगाउने अख्यितारको प्रतिशोधपूर्ण कदम हो। यसका विरद्ध कांग्रेसले कडा ढंगले प्रतिवाद गर्छ। आजको संसद बैठक पनि अवरुद्ध पार्नुस्, अरु माध्यमबाट पनि विरोध गर्नुहोस् ’ देउवाले बैठकमा निर्देशन दिए।
बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदार पनि बोलेका थिए। उनले अख्तियारलाई ओली आयोग बनाइएको बताए।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ। ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ। त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन्’ बैठकमा गच्छदारले भनेका थिए।
कांग्रेसले सदन अवरोधमा साथ दिन राजपा र समाजवादी पार्टीलाई पनि औपचारिक अनौपचारिक रुपमा आग्रह गरेको छ। संसद बैठक आज दिउँसो एक बजे बोलाइएको छ।






















