काठमाण्डौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुअगावै मन्त्रिपरिषदमा सामान्य तर कठिन हेरफेरको तयारी गरेका छन्।
पार्टी उच्च स्रोतका अनुसार आगामी फागुनमा नेपालभित्रै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका प्रधानमन्त्री ओलीले त्यो अगावै मन्त्रिपरिषद्मा हेरफेर गर्न लागेका हुन्।
विदेशमा गएर मिर्गौला प्रत्यारोपण गर्दा त्यहाँको जटिल कानुन र सरकार अलपत्र पारेको स्वदेशबाट आलोचना तथा आरोपबाट समेत बच्ने उद्देश्य सहित प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका विशेषज्ञ र उपकरण नेपालमै झिकाएर मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका हुन्।
त्यसअगावै ओलीले हालै उपसभामुखबाट राजीनामा दिन बाध्य शिवमाया तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्वको जिम्मेवारी दिने तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीले तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराउने बेला उनलाई मन्त्री बनाउने भन्दै दिएको आश्वासन केही दिनमै कार्यान्वयन गर्ने तयारीमा रहेको स्रोत बताउँछ।
सभामुखका लागि आफू योग्य भएपनि पार्टी नेतृत्वमा पितृसत्ता सोच हावी भएका कारण आफू त्यहाँसम्म पुग्न मात्रै होइन, तीन वर्ष पदावधि बाँकी छँदै आफ्नै पदबाट समेत राजीनामा दिनु पर्ने अवस्था आएको तुम्बाहाङ्फेले सार्वजनिकरुपमा अभिव्यक्ति दिएकी थिइन्।
तर तुम्बाहाङ्फेले पितृसत्ता सोचविरुद्ध आफूले कुनै न कुनै निकायको नेतृत्वको जिम्मेवारी लिने भन्दै प्रधानमन्त्रीबाट आफूलाई मन्त्री बनाउने आश्वासन पाएको घुमाउरो संकेत गरेकी थिइन्।
पार्टीमा बदलिएको समीकरणका कारण प्रधानमन्त्री ओलीले आफ्ना बफादारलाई छोडेर पूर्वमाओवादी नेता अग्नि सापकोटालाई सभामुखका रुपमा स्वीकार गरेका थिए।
मन्त्री बन्ने चर्चामा रहेका र हालै राष्ट्रियसभाका सदस्यको हैसियत पाएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिपरिषदमा ओलीले प्रवेश गराउन चाहेपनि केही जटिलताहरु उनीसामू देखिएको छ।
पहिले नै उपप्रधानमन्त्री भइसकेका र पार्टी वरियतामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल भन्दा अगाडि रहेका श्रेष्ठ मन्त्रिपरिषद्मा गएमा पोखरेल भन्दा वरिष्ठ हुने छन्। र, प्रधानमन्त्री ओलीको अनुपस्थितिमा मन्त्रिपरिषद्को अध्यक्षता श्रेष्ठले सम्हाल्नु पर्ने भएकाले त्यो पोखरेलका लागि स्वीकार्य होला या नहोला ?
यस्तै मन्त्री पोखरेल र प्रधानमन्त्री ओलीबीचको समीकरणलाई कस्तो असर पर्ला ? त्यसको अध्ययन ओलीले सुक्ष्मरुपमा गरिरहेको बुझिएको छ।
साथै श्रेष्ठ पूर्वमाओवादीको जनमोर्चा घटकसँग आवद्ध भएकाले त्यही घटकबाट शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई विस्थापित नगरी श्रेष्ठको मन्त्रिपरिषद्मा प्रवेश सम्भव नभएको स्रोत बताउँछ।
यता गोलाप्रथाबाट दुईवर्षका लागि राष्ट्रियसभा सदस्य बनी अर्थमन्त्री बनेका युवराज खतिवडालाई पनि मन्त्रीमा दोहोर्याउने इच्छा पार्टी सचिवालयका अधिकांश सदस्यले नदेखाएपछि त्यसको चेपुवामा पनि ओली परेका छन्।
राष्ट्रपतिद्वारा मनोनीतका लागि खतिवडाको नाम पठाउन ओलीले चाहेपनि अन्य सदस्यहरुले विरोध गरेपछि ओली दोधारमा परेको स्रोत बताउँछ।
‘दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुपूर्व प्रधानमन्त्री मन्त्रिपरिषद्मा हेरफेर गर्न चाहनुहुन्छ। आफैँले आश्वासन दिएकाले पूर्वउपसभामुख शिवमायालाई मन्त्री बनाउने तयारी उनको छ। तर नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउन र युवराज खतिवडाको मन्त्री पद दोहोर्याउन उनलाई गतिलो गृहकार्य चाहिने देखिन्छ,’ पार्टी सचिवालयका एक सदस्यले भने।
प्रधानमभन्त्री ओलीले यसअघि मंसिर ४ गते कार्यसम्पादनका आधारमा भन्दै मन्त्रीपरिषद् हेरफेर गर्दा ९ मन्त्रीले स्थान पाएका थिए भने ६ मन्त्री र तीन राज्यमन्त्री बर्खास्त भएका थिए।
प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादवलाई हटाएका थिए।
पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, स्वास्थ्य राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पनि हट्न पुगेका थिए।

























