काठमाण्डौं, माघ २० । सरकारले कोरोना भाइरसका सम्भावित बिरामीलाई आइसोलेटेड वार्डमा राखेर उपचार गर्न नेपाली सेनालाई निर्देशन दिएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले आइसोलेटेड वार्डको खोजी गरेर तयारी थाल्न निर्देशन दिएको जानकारी दिए।
‘हामीले विगतमा इबोलाका बिरामीलाई आइसोलेटेड वार्डमा राखेर २१ दिनसम्म उपचार गरेका थियौँ। त्यही भएर पनि हामीलाई त्यो जिम्मेवारी आएको हुन सक्छ’, सैनिक प्रवक्ता पाण्डेले भने। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नियमित छलफल भइरहेको र चाँडै यसबारे निष्कर्षमा पुग्ने उनले बताएका छन्।
सेनाले २०७१ सालमा लाइबेरियामा शान्ति मिसनमा रहेका आफ्ना सैनिक कर्मचारीमा इबोलाको संक्रमण देखिएपछि आइसोलेटेड वार्डमा राखेर सफलतापूर्वक उपचार सम्पन्न गरेको थियो। सैनिक प्रवक्ता पाण्डेले कहाँ राखेर उपचार गर्ने भन्नेबारे निश्चित भइनसकेको बताए। ‘हामीलाई योजना बनाउनुस् भनेर निर्देशन भएको छ। अब त्यसबारे तयारी सुरु हुने छ’, उनले भने।

























