माघ १९ । कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको चीनमै फेरि महामारी निम्त्याउने बर्ड-फ्लु (H5 N1) भाइरस फैलिएको छ। कोरोना भाइरसको केन्द्रविन्दु वुहान नजिककैको हुनान प्रान्तबाट बर्डफ्लु फैलन थालेको हो।
बर्ड फ्लु कोरोना भाइरस भन्दा पनि बढी खतरनाक हुने चिकित्सकहरुले बताएका छन्। यद्यपीः यो पटक अहिलेसम्म बर्डफ्लुबाट चीनमा मानिसको ज्यान गएको खबर बाहिरिएको छैन।
हुनानको सुअङ्गक्वीङ जिल्लास्थित एक कुखुरा फर्मबाट बर्डफ्लु फैलिएको हो। सो फार्मका ७८५० कुखुरा र ४५०० चल्लाहरु बर्डफ्लुका कारण मरेका छन्। ठूलो फार्ममा भएका सबै कुखुरा मर्नेगरी बर्डफ्लु फैलिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रका १७८२८ वटा कुखुरा फार्म नष्ट गरिदिएको छ।
देशव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सैयौं मानिसहरुको ज्यान गइरहेका बेला एकैसाथ बर्डफ्लु समेत देखिएपछि बेइजिङ थप दबाबमा परेको छ। चीनमा यतिखेर कोरोना भाइरसको संक्रमणबाट बच्न लगाउनुपर्ने मास्कसमेत अभाव भएको छ।