काठमाण्डौं, माघ १७ । नक्कली प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा कार्यरत एकजना डीएसपीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। नक्कली प्रमाणपत्र पेश गरी बढुवा समेत भएका अरुणकुमार शाहविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
उनले परीक्षा नै नदिई भारतबाट बिए पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अनुसन्धानका क्रममा फेला परेको अख्तियारले जनाएको छ।
‘झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सोही आधारमा प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षक पदमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको देखिएबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा तत्कालीन प्रहरी निरीक्षक अरुणकुमार शाहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


























