हेटौंडा, माघ १६ । मकवानपुर प्रहरीले ६३ किलो गाँजा र ३ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीमा सवार २ जनालाई गाँजा र अफिमसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गाडी चालक बाराको पर्सौनी गाउँपालिका–६ घर भएका २८ वर्षीय रामजी साह तेली र गाडीमा सवार बाराको आदर्श कोतवाल गाउँपालिका–२ घर भएका ३० वर्षी प्रेम पटेल छन्।
प्रहरीका अनुसार उनीहरुले दैनिक उपभोग्य बस्तुको ढुवानीका लागि प्रयोग हुने गाडीमा गाँजा तस्करी गर्ने गरेका थिए।
शंकाको आधारमा मंगलबार बिहान चेकजाँच गर्दा गाडीमा फल्स बटम बनाइएको देखिएको थियो। प्रहरीले गाडी नियन्त्रणमा लिइ ग्यारेजमा लगेर फल्स बटम खोल्दा प्लास्टिकको २१ वटा पोको बनाएर ६३ किलो गाँजा र ३ सय ग्राम अफिल लुकाएको देखिएको थियो।
प्रहरीले गाँजा र अफिमसहित पक्राउ परेका २ जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ।