चितवन, माघ १६ । चितवनको माडी नगरपालिका क्षेत्रमा गएरातिदेखि फेरि विद्युत सेवा अवरुद्ध भएको छ। माडीमा विद्युतीकरणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि विद्युत सेवा बन्द भएको विद्युत प्राधिकरण चनौली सबस्टेशनले जनाएको छ।
विद्युत लाइन सप्लाइमा अवरोध भएको ठाउँको पहिचान र मर्मतका लागि टोली खटिएको चनौली सबस्टेशनका प्रमुख शिशिर पौडेलले जानकारी दिए । सोमबार पनि भूमिगत लाइनमा समस्या आउँदा माडीमा विद्युत सेवा बन्द भएको थियो। ‘बनाएर आएको एक दिन नहुँदै फेरि समस्या देखियो,’ प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख पौडेलले भने, ‘फल्ट लोकेसन गर्ने मेशिन लिएर जंगल जाँदै छौं, निकुञ्ज, सेनालगायत सबैको सहमति लिएर काम गर्नुपर्ने हुन्छ।’
माडीमा विद्युत लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत लाइन भूमिगत गरिएको छ। त्यसको सात ठाउँमा ज्वाइन्टहरू छन्। ती ठाउँहरुमा नै पटक-पटक समस्या आउने गरेको छ। पटक-पटक विद्युत अवरुद्ध हुँदा माडीका जनताका साथै प्राधिकरणका कर्मचारीहरुले समेत सास्ती भोग्दै आएका छन्।
समस्या पत्ता लागेमा तीन घण्टामा नै विद्युत सप्लाई गर्न सकिने उनले बताए। सोनामिटरको सहायता तथा उच्च भोल्ट पठाएर समेत समस्या पत्ता लगाउन सकिन्छ ।
भूमिगत लाइन विछ्याउँदा नै त्रुटि भएका कारण पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको प्राधिकरणका कर्मचारी बताउँछन्।