रुपन्देही, माघ १४ । रोहिणी गाउँपालिका–४ सुहिलीहवामा तीन ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। मंगलबार बिहान भएको दुर्घटनामा ना २ ख ८१८४ नम्बरको ट्रक चालक र त्यही काम गर्ने दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) हेमकुमार थापाले जानकारी दिए।
मृत्यु हुनेहरूमा सुनसरी चताराका अन्दाजी ३५ वर्षका पूर्ण बहादुर भुजेल, नवलपरासी कालीनन्दन गाँउपालिका बस्ने मविकन कुर्मी र लालु कुर्मी रहेका छन्। साथै घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। सुवास कुर्मी, विनोद धवल, दुधाई हरिजन र मोहन राईको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
तनहुँ आबुखैरेनीका वीरेन्द्र गुरुङ, नवलपरासी कालीनन्दन गाउँपालिकाका अक्लेस यादव, मनिस धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजनको भने भिम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। एसपी थापाका अनुसार ना२ख८१८४ नम्बरको ट्रक र ना५ख७८५६ नम्बरको ट्रक आपसमा जुधेपछि विपरीत दिशाबाट आएको ना५ख७८५६ नम्बरमा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो।