चीन, माघ ११ । चीनमा महामारीका रुपमा फैलिएका नयाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ। चीनका सरकारी अधिकारीले हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ४१ जनाको ज्यान गएको पुष्टि गरेका हुन्।
यस्तै अहिलेसम्म चीनमा १२ सय ८७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। विज्ञहरुले भने संक्रमितको संख्या यो भन्दा बढी हुन सक्ने बताएका छन्।
चीनमा शनिबार नयाँ वर्ष मनाईँदै छ। तर कोरोना भाइरसको संक्रमणका कारण धेरै कार्यक्रमहरु रद्द गरिएका छन्। गएको डिसेम्बरमा वुहानमा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण हाल चीनका विभिन्न क्षेत्रमा फैलिएको छ।
यस्तै नेपालमा पनि यसको संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका एकजनामा संक्रमण पुष्टि भएको हो। यस्तै अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि केही व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यसरी चीन बाहिरका देशमा संक्रमण पुष्टि हुनेमा अधिकांश चीनबाटै ती देश फर्किएका छन्।
नयाँ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासमा रहेको चीनले संक्रमणको मुख्य केन्द्र वुहानमा नयाँ अस्पताल बनाउन थालेको छ। कोरोना भाइरसको संक्रमण भएकाहरुको उपचारका लागि चीनले वुहानमा अस्पताल बनाउन लागेको हो।
सो अस्पताल हप्तादिन भित्रै बनाइसक्ने चीनको योजना छ। १००० शैयाको सो अस्पताल निर्माणका लागि हाल ३५ डिगर्स तथा १० वटा बुलडोजर प्रयोग गरिएका छन्।
तर वुहानका औषधि पसलहरुमा औषधिको अभाव हुन थालेको छ। अत्तालिएका सर्वसाधारणहरुको लाम भने औषधि पसलहरुमा लामो हुँदै गएको छ।
नयाँ कोरोना भाइरसको संक्रमणका कारण ज्वरो आउने, सुक्खा खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने गर्छ।
संक्रमण फैलिन नदिनका लागि हुबेइ प्रान्तका वुहानसहितका शहरमा सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको छ। वुहानमा बस, मेट्रो तथा फेरी सेवा बन्द गरिएको छ। स्थानीय बासिन्दालाई बाहिर नजान भनिएको छ। हुवाईको इझोउ र इन्शी शहरमा पनि बस सेवा बन्द गरिएको छ।


























