बाँके, माघ ७ । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ। जमिनमाथि निर्माण गरिएको शौचालय फोल्डिङयुक्त छ। शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ। डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत प्रवाह गरिएको छ। अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्नेछन्।
पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका खुल्दैन। शौचालय प्रयोगमा आए÷नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ। शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ। जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन्। शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित छ।
शौच गर्न गएको व्यक्तिले ‘साबुन सङ्केत’ रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको ‘पानी सङ्केत’ देखाएको तल हात लग्दा पानी झर्छ। जहाँ हात धुन सकिन्छ। नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ। जहाँ सङ्गीतको आनन्द लिँदै आरामसाथ शौच गर्न पाउने व्यवस्था छ।
एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगरपालिकाले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोग हुनुपर्नेमा जोड दिए।
‘शौचालयलाई सफा राख्नु आफैँमा चुनौतीपूर्ण कार्य हो,’ उनले भने, ‘त्यसैले यसको लागि सबैको साथ र सहयोग आवश्यक छ।’ नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत रु ४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो।
नेदरल्याण्ड्स विकास नियोगले यसअघि नै चार बाहिनीचोक र मासुमण्डी नजिक रु ८१ लाख १६ हजार लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ। योसँगै नेपालगञ्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन्। त्यसमा पछिल्लोपटक बनेका शौचालय अत्याधुनिक छन्।
बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाब लाग्दा समस्या हुने गरेको भन्दै गुनासो बढिरहेका बेला नेपालगञ्जमा अत्याधुनिक शौचालय बनिरहेका छन्। शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफैँ सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्नेबारे निर्णय भइनसकेको वातावरण इञ्जिनीयर डिसीले बताए। यसअघि उपमहानगरपालिकाले तीन घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। – रासस


























