मकवानपुर, पुस २७ । प्रदेश ३ को स्थायी राजधानी तथा नाम टुंगो लगाउन आइतबार बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने कार्यसूची तय भएको छ। प्रदेशसभाका ५ दलका १ सय ५ जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न सहमत भएपछि मतदानको कार्यसूची तय भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। संविधानअनुसार प्रदेशको नाम र राजधानी प्रदेशसभाको कुल संख्या १ सय १० मध्यको दुईतिहाइ अर्थात् ७४ मतले टुंगो लगाउन सक्नेछ।
प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको छ।
बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन्।
नाममा नेमकिपाको पनि समर्थन छ। प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएको छ। प्रदेशसभामा नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, कांग्रेस प्रदेश ३ का नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक रहेर ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बनाइयोस् भन्दै प्रस्ताव दर्ता भएको छ। त्यस्तै, विवेकशील साझा पार्टीका रमेश पौडेल प्रस्तावक, शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेर काभे्रको धुलिखेल राजधानी बनाइयोस् भन्दै प्रस्ताव दर्ता गराएका छन्।
सभामुख श्रेष्ठले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न शुक्रबार प्रदेशसभा बैठकमा आह्वान गरेका थिए। स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रदेश ३ को राजधानी मकवानपुर, काभ्रे, भक्तपुर, चितवन र नुवाकोट उपयुक्त रहेको सिफारिस गरेको थियो।
प्रदेशसभामा नेवाः ताम्सालिङ, नेपाल मण्डल र गौरीशंकर राख्न प्रदेशसभा सदस्यले निवेदन दर्ता गराएका थिए। दर्ता भएका नाम र राजधानीको प्रस्तावबारे शनिबार प्रदेशसभा बैठकमा छलफल भएको छ।
छलफलमा कांग्रेसका नेता बानियाँले राजधानी हेटौंडालाई सर्वसम्मत स्थायी राजधानी पारित गरिदिन प्रदेशसभा सदस्यलाई आग्रह गरे। विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले लोकतन्त्रको रक्षा र दलको सिन्डिकेटविरुद्ध प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेल दर्ता गरिएको बताए।
रसुवाका स्वतन्त्र प्रदेशसभा सदस्य प्रेम तामाङले नाम र राजधानीमा आफू तटस्थ बस्ने बताए। नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा दर्ता गरेपछि मुख्यमन्त्री पौडेलले नामम सर्वसम्मत र राजधानीमा ९९ प्रतिशत सहमति जुटेको बताए।
नेकपाभित्रको रस्साकस्सी र असहमतिका कारण दुई वर्षदेखि प्रदेशको राजधानी र नाम टुंगो लाग्न सकेको थिएन।
नेकपा ३ नम्बर प्रदेश संसदीय दलभित्र प्रदेशको नाम र राजधानीबारे फरक मत दर्ता भएको छ। प्रदेशसभामा फरक मत राख्न नपाउने लिखित निर्णय गरे पनि पार्टीभित्र फरक मत राख्ने छुट दिएपछि प्रदेशको राजधानी र नाममा भएको असहमति असन्तुष्ट प्रदेशसभा सदस्यले दर्ता गराएको नेकपा ३ नम्बर प्रदेश संसदीय दलका नेता रामेश्वर फुयाँलले बताए।
प्रदेशको स्थायी राजधानी काभ्रे हुनुपर्ने भन्दै ३१ जना नेकपाका प्रदेशसभा सदस्यले संसदीय दलमा हस्ताक्षरसहित फरक मत दर्ता गराएका छन्। उनीहरूको फरकमतमा पार्टीले केन्द्रियता लादेको, व्यावहारिक र वैज्ञानिक निर्णय नगरेको र काभ्रे नै स्थायी राजधानीका लागि उपयुक्त रहेको दाबी गरेका छन्।