भैरहवा, पुस २६ । सन् २०२० भित्र २० लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउने सरकारकाे लक्ष्य छ। त्यसकाे लािग सरकारले दाैडधूप गरिरहेकाे छ। पर्यटन मन्त्री याेगेश भट्टराई निम्ता दिन अष्ट्रेलिया पुगे। तर, आवश्यक तयारी र पूर्वाधारको अभावका कारण सरकारको लक्ष्य पूरा हाेला त ? भनेर प्रश्न पनि नतेर्सिएकाे हाेइन।
पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउने र विकास गर्ने लक्ष्यसहित भ्रमण वर्ष-२०२० को शुभारम्भ गरे पनि सरकारले अझै पूर्वाधार निर्माणमा ध्यान पुर्याउन सकेको छैन। पूर्वाधार अभावकै कारण पर्यटक आवागमन पनि घट्दै गएको छ। पैदलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रने रुपन्देहीकाे बेलहिया नाकाकाे दुर्दशाका कारण लुम्बिनी जस्ताे प्रसिद्ध ठाउँमा पनि पर्यटक आउन नसक्ने हाे कि भन्ने चिन्ता बढेकाे छ।
सरकारले भ्रमण वर्षको भव्य शुभारम्भ गरे पनि याे नाकामा भ्रमण वर्षको रौनकता नै देखिएकाे छैन। पर्यटकलाई भिसा लगाउनै समस्या भएकाे छ। सहज व्यवस्थापन, भिसा लगाउनजेल बस्ने ठाँउको अभाव, राम्रो र सुविधासम्पन्न शाैचालय, यातायातलगायत अन्य सुविधाको अभावका कारण पर्यटकले नेपाल प्रवेश गर्ने बिन्दुबाटै असहजता खेप्नु परेको छ।
नाकामा रहेको पर्यटक सूचना केन्द्रको अवस्था पनि बेहाल छ। धुलोले पर्यटक अध्यागमनमै आतिन्छन्। उनीहरु नाक थुनेर भिसा फारम भर्न बाध्य छन्। जताततै फोहोर, सवारीको चाप र ध्वनी प्रदूषणले पर्यटकलाई समस्या पार्ने गरेकाे छ।
बेलहिया-बुटवल सडकखण्ड अन्तर्गत बेलहियामा अहिले सडक निर्माणको चटारो छ। निर्माणधिन सडकखण्डले नाकाको अवस्था झनै बेहाल बनाएको छ। सडक किनारका हरिया बोट-बिरुवा र घर धुलोले भरिएका छन्। धुलोले पीडित स्थानीयले केही महिना अघि नाकामा चक्काजाम समेत गरेका थिए। ठेकेदारको लापरवाहीका कारण स्थानीय र पर्यटकहरु पीडित बनेकाे बेलहियाका स्थानीय देवराज न्यौपानेले बताए।
भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई भेटाउन सरकारले प्रत्येक दिन ५ हजार ४ सय ८० पर्यटक भित्रयाउनुपर्छ। तर, सरकारसँग कुन देशबाट कति पर्यटक आउने भन्ने अनुमानसमेत छैन। भ्रमण वर्षलाई सफल बनाउन प्रत्येक महिनाको योजनाअनुसारको कार्यक्रम हुनेपर्नेमा संघीय र प्रदेश सरकारका मन्त्रीहरु भाषणमै सीमित छन्।
लुम्बिनी पुग्नै सकस
प्रदेश पाँच सरकारले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भन्दै २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइरहेको छ। बेलहिया नाकाबाट वर्षेनी करिब डेढ लाखको हाराहारीमा तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिने गरेका तथ्याङले देखाउँछ।
यस नाकाबाट आउने अधिकांश पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी दर्शन तथा भ्रमणका लागि आउने गर्दछन्। भौतिक पूर्वाधारको अभावका कारण पर्यटकहरुले समस्या भोग्नु परेको परेको छ। भ्रमण वर्षमा पर्यटकलाई लुम्बिनी पुग्न सहज छैन। निर्माणधिन भैरहवा-लुम्बिनी-तौलिहवा सडकखण्डको धुलो र यत्रतत्र छरिएका निर्माण साम्रगीले कतिपय पर्यटक लुम्बिनी नै नपुगी फर्किने मनस्थितीमा पुग्ने गरेकाे पर्यटन व्यवसायीहरुकाे भनाइ छ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलोले लुम्बिनीको यात्रा निकै कठिनपूर्ण हुन्छ। लुम्बिनी मार्गमा रहेको पुल पनि अलपत्र छ। संचालनमा रहेको जीर्ण पुलबाट एक पटकमा एउटा गाडी मात्र पास हुन सक्छ। साँघुरो र जीर्ण पुलका कारण जाम पनि हुने गरेकाे छ। लुम्बिनी भ्रमण वर्ष मनाइरहेका प्रदेश सरकार र संघीय सरकारसगँ पर्यटकको बसाई लम्ब्याउनका लागि खासै योजना पनि छैन। सरकारले भ्रमण वर्ष घोषणा गरे पनि पर्यटकको बसाई लम्ब्याउनका लागि कुनै योजना नल्याएको होटल व्यासायीहरु बताउँछन्।
अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले नाकाको अवस्थाका कारण पर्यटकले सास्ती खेप्नु परेको बताए। ‘धुलोले खुल्ला वातावरणमा बस्ने स्थिती छैन,’ उनी भन्छन्, ‘भिसा प्रक्रियाको कागज बुझाएर गाडीभित्रै बस्छन्।’ अध्यागमन कार्यलयमा प्रयाप्त बस्ने ठाँउको अभावमा गाडीमै गएर बस्न बाध्य भएको उनको भनाइ छ।