–नारायण अधिकारी,
मेलवर्न (अष्ट्रेलिया), पुस २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन्। गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष–२०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपालको पर्यटकीय महत्त्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे।
नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘सिधा हवाई उडान गर्न सकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुनेछ।’ अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उहाँले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायलाई आग्रह गरे।
कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए। आफू अष्ट्रेलिया आएदेखि नै यहाँका नेपालीको साथबाट उत्साहित भएको उनको भनाइ छ।
गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे। उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान अनुरोध गरे। अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यसवर्ष आफू पनि नेपाल जान इच्छुक रहेको प्रतिक्रिया दिए।
गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए। यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए। सङ्घकै पहलमा मेलवर्न र सिड्नीमा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ छ। गतवर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटक नेपाल गएको तथ्याङ्क छ। अष्ट्रेलियामा करिब डेढ लाख बढी नेपाली रहेको अनुमान गरिएको छ। – रासस