काठमाण्डौं, पुस २४ । पश्चिमी वायुको प्रभावका कारण आज (बिहीबार) दिनभर वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैदेखि देशभरका विभिन्न स्थानमा पानी परिरहेको छ। पानी परेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेको छ। मध्यक्षत्रमा पर्ने चितवन, पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा बिहानैदेखि पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन्। ‘यसैको प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ,’ उनले भनिन्। बढी चिसोका कारण वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित हुन सक्ने हुँदा बढी सतर्क रहन पनि महाशाखाले सुझाव दिएको छ।
शुक्रबार काठमाण्डौसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको उनले बताइन्।


























