चितवन, पुस २२ । चितवन मेडिकल कलेज (सिएमसी)मा लागेको ताला करिब पाँच महिनापछि मंगलबार खुलेको छ। भरतपुरको कैलाशनगरस्थित सिएमसीको गेटमा विद्यार्थीले गत भदौ १८ गते कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने मागसहित चाला लगाएका थिए। तर, विद्यार्थी स्वयम् लामो समयदेखि संघर्षरत रहँदा पठनपाठनमा पनि समस्या हुने देखिएपछि मंगलबार पत्रकार सम्मेलन गरेर ताला खोलिएको हो।
सिएमसीका विद्यार्थीले नियमित पठनपाठनका लागि कलेज प्रशासनसँग विभिन्न बुँदासहित सर्त राखेर ताला खुलाइएको हो। तर, ताला खोलेर आन्दोलनको स्वरुप मात्रै परिवर्तन गर्न खोजिएको विद्यार्थीहरुले बताएका छन्। विद्यार्थी प्रवीण लामाले कलेज प्रशासनसँगको आन्दोलन जारी रहेको बताए। ‘हामी करिब पाँच महिनासम्म सडकबाटै संघर्ष गर्न बाध्य भयौँ,’ उनले भने, ‘तर, अब पठनपाठन पनि सुचारु गर्ने तरिकाले आन्दोलनको स्वरुप फेरेका छौँ ।’

पठनपाठनका क्रममा विद्यार्थीले सुरक्षित तरिकाले पढ्न पाउनुपर्ने र आन्दोलनका कारण परीक्षा दिन छुटेकोले सबै संकायमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेर विद्यार्थीलाई परीक्षा दिने वातावरण मिलाउन पनि कलेजलाई आग्रह गरेका छन्। परीक्षा शुल्कमा समेत त्रिभुवन विश्वविद्यालयले कायम गरेको शुल्कभन्दा बढी लिन नपाइने उनले बताए।
ताला खोलेकै भरमा विद्यार्थीमाथि षड्यन्त्रपूर्वक तरिकाले समायोजन गर्न खोजेमा कलेजलाई आर्थिक नाकाबन्दीमा पार्ने भन्दै विद्यार्थीले चेतावनी दिएका छन्।
विद्यार्थीमाथि मेडिकल कलेजले गरेको दुर्व्यवहारप्रति सरकारले कुनै ‘एक्सन’ नलिइएको भन्दै विद्यार्थीहरु र उनका अभिभावकले सरकारको समेत आलोचना गरेका छन्। अतिरिक्त शुल्क फिर्ता गर्न विद्यार्थीले महिनौँदेखि सडकबाट संघर्ष गर्दासमेत सरकार रमिते बनेर हेरिरहेको अभिभावक बिपी ओलीको भनाइ छ।

‘सबै विद्यार्थीले सँगै सडकबाट आन्दोलन गरिरहँदा केही विद्यार्थीको लागि मात्रै माग पूरा गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यस्तो क्रियाकलापले पनि सरकार विद्यार्थीको कित्तामा छैन, मेडिकल माफियाकै कित्तामा छ भन्ने प्रष्ट भएको छ।’ विद्यार्थी र अभिभावकको चाहना र हितविपरितका क्रियाकलाप गर्दै गए कलेजमा ठूलो आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिए।
सिएमसीले २०७२ सालयता विद्यार्थीबाट ५६ करोड रूपैयाँ अतिरिक्त शुल्क लिएको छ। त्यसमध्ये २२ करोड रूपैयाँ समायोजन गर्नुपर्ने र बाँकी सबै रकम विद्यार्थीलाई नै फिर्ता गर्नुपर्ने माग छ। विद्यार्थीको आन्दोलनमा संयोजन गर्दै आएका विद्यार्थी नेता प्रकाश चन्द र मान्यता थापा भने पत्रकार सम्मेलनमा सहभागी थिएनन्।