वीरगञ्ज, पुस २२ । सशस्त्र प्रहरीले मंगलबार एक तिब्बती र चार भुटानी गरी पाँचजनालाई नियन्त्रणमा लिएको छ। भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारत मैत्री बसमा सवार उनीहरूलाई राहदानी बिनै अवैध रूपमा नेपाल प्रवेश गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको हो।
‘४० यात्रुमध्ये एक तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि नियन्त्रणमा लिएका हौँ,’ सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर खत्रीले भने, ‘चेकजाँचका क्रममा राहदानीबिना नै नेपाल आउँदै गरेका भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङसँगै तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमोलाई नियन्त्रणमा लिएका हौँ।’
उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको उनले बताए।


























