काठमाडाै, पुस २० । भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ जम्मा ८६ प्रतिशत मात्रै प्रगति भएकाे देखिएकाे छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको साेमबार बसेकाे बैठकमा पुनःनिर्माणमा हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख ८० हजार ८९१ घरको निर्माण सम्पन्न भएको जानकारी गराए।
भूकम्पले भत्किएका आठ लाख १६ हजार ४७१ घर पुनःनिर्माण गर्नुपर्नेमा सात लाख ८० हजार १६५ परिवारले अनुदान सम्झौता गरेको उनले बताए। सात लाख ७० हजार २६१ भूकम्पपीडितले पहिलो किस्ता बराबरको ५० हजार रुपैयाँ बुझेका छन्। विसं २०७२ माघ २ गते पुनःनिर्माणको सुरुवात गरेको रानीपोखरी आगामी वैशाख १२ गते नै सक्ने गरी काम अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सांसदहरुलाई जानकारी गराए।
समितिकी सभापति दिलकुमारी थापा रावल (पार्वती)ले पुनःनिर्माणको समग्र अवस्था सकारात्मक रहेकाले केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्न प्राधिकरणलाई निर्देशन दिइन्। सांसद सुरेन्द्रराज पाण्डेले अन्य स्थानको पुनःनिर्माण सकारात्मक देखिए पनि गोरखा दरबारको काम सुरु भएको दुई वर्ष बित्दासमेत अझै भत्काएरै नसकिनुका कारण के हो भनी प्रश्न गरे।
गोरखाको लाप्राकस्थित गुप्सीपाखामा निर्माण भइरहेको एकीकृत बस्तीमा स्थानीयवासी अझै सर्न नमानेकाले के गर्ने भन्ने विषयमा प्राधिकरणले ध्यान दिनुपर्ने उनकाे भनाइ छ। सांसद खिमलाल भट्टराईले विदेशबाट आउने सहयोग, एकीकृत बस्तीमा बस्ने मान्छे भएनन् भन्ने गुनासो आइरहेकोतर्फ पनि प्राधिकरण चनाखो हुनुपर्ने सुझाव दिए।
बैठकमा सांसदहरु धना खतिवडा, कोमल वली, रामचन्द्र राई र रमेशप्रसाद यादवले पुरातात्विक सम्पदा रातो मच्छिन्द्रनाथ काम सुरु भएको चार वर्षभन्दा बढी समय सकिँदा पनि अलपत्र बनेको, स्वास्थ्य संस्थाको पुनःनिर्माणमा पनि हुनुपर्ने जति काम हुन नसकेको बताए। – रासस

























