काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले जारी पदाधिकारी बैठकले उम्मेदवारहरुको टुंगो लगाउने भएको हो।
हिजो बसेको पदाधिकारी बैठकले केही प्रदेशमा उम्मेदवार तय गरेको र बाँकी प्रदेशमा आजको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार आज दिउँसो १२ बजेभित्रमा उम्मेदवारको टुंगो लगाउने तयारी छ।
हिजोको पदाधिकारी बैठकमा संस्थापन इतर पक्षमा रहेका महामन्त्री डा. सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव सहभागी भएनन्। संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा एकलौटी निर्णय गरेको भन्दै इतर पक्षले लगातार बैठक बहिष्कार गर्दै आएको छ।
पार्टीको महाधिवेशन एक वर्ष पछाडि धकेलेको र विधानविपरित विभागहरुको संख्या थप गरेको भन्दै निर्णय नसच्याएसम्म बैठकमा सहभागी नहुने असन्तुष्ट केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं. २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि भोलि उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका छ।