चितवन, पुस १७ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिइएको छ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाडी (रमाना बुझी) सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन भनेको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो।
तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए। एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त हाजिर हुन पाएकी थिइनन्।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई पत्र लेख्दै १२ घण्टाभित्र चितवनबाट रमाना लिएर सरुवा गरी पठाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो।