काठमाडौँ, पुस, १६।
सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउने घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बुधबार देखि सुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच भ्रमण वर्षको औपचारिक शुभारम्भ हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने तयारी छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलबार पूर्वाभ्याससमेत गरिएको थियो। उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ।
बुधबार अपराह्न ४ बजेदेखि सुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ। सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ। नेपालको संस्कृति झल्कने नाचगानबाट सुरु हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ।
राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ। कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्ने छन्।
भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ। भ्रमण वर्षको ‘यति मस्कट’ को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।