काठमाडौं, ११ पुस। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका छन्। उनले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुनेसमेत दाबी गरे।
‘कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने केही आयोजना सम्पन्न हुने चरणमा छन्, शुक्रबार राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘मुलुकमा वि.सं. १९६८ को फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको सुरूवात भएको हो। त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट पनि पुगेको छैन।’
तर, चालू आर्थिक वर्षभित्रमा त्यसको क्षमता दुई हजार मेघावाट नाघ्ने उनले दाबी गरे। यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको उनको भनाइ छ। गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएकोकोले अबका दिनमा हिउँदको समयमा समेत निर्यात गर्न सकिने स्थितिमा पुगेको जानकारी गराए।
विद्युत् चुहावट हुनबाट रोक्नु अर्को चुनौती रहेको भन्दै उनले त्यसलाई रोक्न निरन्तर लागिरहेको बताए। तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक रु सात अर्ब बढी थप आम्दानी गरेको उनले बताए। अहिले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको र सरकारले छुट्याएको बजेटबाहेक प्राधिकरण आफैँ १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ।