चितवन, ११ पुस। कुनैबेला लोक तथा दोहोरी गायक विष्णु खत्री र लक्ष्मी न्यौपानेले गाएको लोकदोहोरी गीत पाखाबारी तोरी फुलेको, मायासँग हात समाई डुलेको अझै पनि छैन भुलेको’ बोलेको गीत निकै लोकप्रिय थियो। त्यसो त तोरी फुलेको विषयलाई लिएर धेरै कलाकारले गीत गाएका छन् भने तोरी शब्दबाट रचित गीतमा संगीतकारले संगीतसमेत भरेका छन्।
गीतमा तोरीबारीको रमाइलो दृश्यमा प्रमी–प्रेमीकाबीच सँगै घुमघाम गरेर रमाइका विषयलाई उठान गरिएको थियो। हो, यतिबेला चितवनका विभिन्न स्थानमा हेर्ने हो भने विष्णु खत्रीको गीतमात्र नभई समग्र तोरी फुलेको विषयमा बनेका गीतको सम्झना दिलाउँछ।
हुन पनि तोरी फुलेको दृश्यले प्रेमी–प्रेमीकाको मात्र नभई सबैको मन लोभ्याउँछ। त्यसैले त कतिपयले भ्रमण वर्ष २०२० लक्षित गर्दै हिमालमा परेको हिउँसहित पहाडको जंगल र तराईमा फुलेको तोरीको तस्बिरसमेत खिचेर सामाजिक सञ्जालमा पोस्ट्याएका छन्। त्यसले नेपालको भौगोलिक सुन्दरता पनि झल्काएको छ।
तोरीखेतीबाट मौरी किसानलाई सबैभन्दा बढी फाइदा हुन्छ। मौरी किसानले यतिबेलाको समयमा तोरीबारीमा मौरी चराउने गर्दछन्। स्वास्थ्यको लागि पनि तोरीको फूलको रसबाट बनेको मह उपयुक्त मानिन्छ। त्यसो त चितवन जिल्लालाई कृषि क्षेत्रमा उर्वर भूमीको रूपमा लिने गरिन्छ। धान, तोरी, केरा, मह, हरियो तरकारीलगायतमा चितवन जिल्ला अग्रस्थानमा पर्छ।
तर, पछिल्लो समय चितवनमा कति क्षेत्रफलमा तोरी लगाइँदै आएको छ भन्ने विषयमा कृषि ज्ञान केन्द्र अनभिज्ञ छ। संघीय संरचनाअनुसार जिल्ला कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्र बनाएपछि समग्र जिल्लाको कृषि क्षेत्रको तथ्यांक स्थानीय तहसँग हुने हुँदा ज्ञान केन्द्रमा त्यसको ‘रिपोर्टिङ’ नआइपुगेको ज्ञान केन्द्रले जनाएको छ।
ज्ञान केन्द्रकी सूचना अधिकारी सुरूचि त्रिपाठीका अनुसार दुईवर्षअघि चितवन जिल्लामा १२ हजार १५० हेक्टर क्षेत्रफलमा तोरी खेती लगाउँदा १४ हजार २१७ मेट्रिकटन तोरी उत्पादन भएको थियो। त्यसपछिका वर्षहरूको तथ्यांक भने ज्ञान केन्द्रसँग नभएको उनले बताइन्। स्थानीय तहले तथ्यांक संकलन गरेर दिनुपर्ने भए पनि नदिइएकोले कार्यालयसँग तथ्यांक नै नभएको उनको भनाइ छ।


























