रमेश लम्साल,
काठमाडैं, ०३ पुस। ठूला भौतिक निर्माणको काम धमाधम अगाडि बढिरहेको बेला नदीजन्य निर्माण सामग्रीको आपूर्तिमा भने समस्या देखिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुग्न लागेको बेला नदीजन्य निर्माण सामग्रीको अभाव देखिएको हो।
सङ्घीय संसद्को अर्थ समितिको बैठकमा समेत बिहीबार नदीजन्य निर्माण सामग्रीका कारण आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त भएको छ। रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण व्यवसायी नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्शन ग्रुपले स्थानीय रुपमा नदीजन्य निर्माण सामग्री नपाएपछि चितवनबाट आपूर्ति गरिरहेको छ।
विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीय निकायले नदीजन्य पदार्थ आपूर्तिमा असहयोग गरेका कारण लामो दूरी पार गरेर निर्माण सामग्री ल्याउनुपरेको छ। अर्थसचिव राजन खनालले आयोजनाको स्थलगत निरीक्षणका क्रममा आफूलाई समेत आयोजनाको व्यवस्थापन गरिरहेका सम्बद्ध अधिकारी एवं निर्माण व्यवसायीले नदीजन्य निर्माण सामग्रीका कारण समस्या आएको गुनासो गरेको समितिलाई जानकारी दिए।
‘स्थलगत निरीक्षणका क्रममा नै निर्माण सामग्रीको अभाव रहेको देखिएको छ। यसले आयोजनाको म्याद बढ्ने र लागतसमेत बढ्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ,’ सचिव खनालले भने। समितिका सभापति कृष्णप्रसाद दाहालले समेत सो आयोजनामा नदीजन्य निर्माण सामग्रीको अभाव आजको मात्रै समस्या नभई अघिल्लो वर्ष पनि त्यस्तै रहेको जानकारी दिँदै जटिलता हटाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए।
ठूला आयोजना अगाडि बढाउँदा नदीजन्य सामग्रीको अभाव देखिनु दुःखद् रहेको भन्दै समितिको बैठकमा सहभागी सांसद रामकुमारी झाँक्रीले त्यस्तो समस्या देखिएको आयोजनाको पहिचान गरेर समाधान गर्नुपर्ने बताइन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत नदीजन्य सामग्री आयातमा समस्यै समस्या रहेको बताए।
‘सङ्खुवासभाको एक आयोजनाका लागि निर्माण व्यवसायीले रु ४० हजार प्रतिटिपरमा धरानबाट बालुवा लगिरहेका छन्,’ उनले भने, ‘अनि कसरी आयोजना समयमा सकिन्छ?’ प्राकृतिक स्रोतको बाँडफाँडमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको हैसियत र हिस्सा स्पष्ट भए पनि स्थानीय सरकारले नदीजन्य सामग्रीको प्रयोगमा सहजीकरण गरेका छैनन्। जसका कारण ठूला आयोजनामा जटिलता पैदा भएको छ।
छब्बीस अर्ब बराबरको सडक अलपत्र
सडक सञ्जाल निर्माणमा विभिन्न निकायले काम गरिरहेको भए पनि रु २६ अर्ब बराबरको सडक निर्माण प्रक्रिया अलपत्र रहेको पाइएको छ। समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सङ्घीय र प्रदेश सरकारले स्वामित्व नलिँदा ४७७ सडक आयोजना अलपत्र परेको जानकारी दिए।
सङ्घीय सरकारले प्रदेश सरकारलाई ती सडक निर्माणका लागि हस्तान्तरण गरे पनि प्रदेशले लिन नमान्दा समस्या देखिएको उनले बताए। ती सडकबारे उपयुक्त निर्णय नहुँदा आयोजना नै अलपत्र परेको उनको भनाइ छ। ती आयोजनालाई बहुवर्षीय ठेक्कामा समेत लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेकाले समस्या उत्पन्न भएको उनले बताए।
‘सङ्घीयताको कार्यान्वयनसँगै साना आयोजना स्थानीय सरकारलाई र मझौला आयोजना प्रदेश सरकारलाई जिम्मा लगाइएको भए पनि केही आयोजनामा जटिलता पैदा भएको हो,’ उनले भने। ती आयोजनाको निर्माण सुरू भइसकेको छ।
केन्द्र सरकारले पनि ती आयोजना अगाडि बढाउन नसक्ने, स्थानीय र प्रदेश सरकारले समेत स्वीकार गर्न नसक्ने भएकाले समस्या देखिएको भन्दै सचिव कार्कीले समस्या समाधानका लागि शीघ्र नीतिगत निर्णय हुनुपर्ने बताए। आयोजना कसको भन्ने निर्णय नभएका कारण आयोजनाबाट लाभान्वित हुनुपर्ने स्थानीयवासी भने मर्कामा परेका छन् । – रासस