चितवन, ०६ मंसिर। भरतपुर कारागार कार्यालयले कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारेको छ। कार्यालयले चालू आर्थिक वर्षमा मात्रै विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको स्थानान्तरण गरिसकेको जनाएको छ।
पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए। जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए।
‘कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको हो,’ उनले भने। यसअघि भदौ ५ गते वीरगञ्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो। कारागारको क्षमता पुरुषतर्फ २५५ र महिलातर्फ २५ जनाको छ। हाल भरतपुर कारागारमा ६३ महिला र ७०९ जना पुरुषले कैद सजाय भोगिरहेका छन्।
छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहुँदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदीबन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप बढेको कारागार प्रमुख काफ्लेले जानकारी दिए। ‘जसले गर्दा कारागारमा कैदीबन्दी राख्नका लागिसमेत समस्या छ,’ उनले भने, ‘राति सुताउन समेत ठाउँ पुगेको छैन।’ – रासस