काठमाडौं, ०४ मंसिर। स्थानीय वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन्।
‘आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ,’ उनले भनिन्। उनका अनुसार चिसो निरन्तर बढ्दो क्रममा रहेको हुँदा यसवर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलाले दृश्यता कमजोर हुने बताइएको छ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार देशको पहाडी भू–भागसहित पश्चिमी तराई भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
शुक्रबार देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २३ दशमलव २ डिग्री सेल्सियस रहेको छ। आज बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्रीमा झरेको छ। – रासस