काठमाडौं, २७ असोज। दसैंको बेला बन्द रहेका सरकारी कार्यालय सोमबारदेखि नियमितरुपमा खुलेका छन्। सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि सोमबारदेखि नियमितरुपमा खुलेका हुन्।
कार्यालय खुलेसँगै सेवाग्राही पनि आउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कार्यालय खुलेसँगै सेवाग्राहीको आउन थालेको बताए। ‘कार्यालयका केही टाढा रहेका कर्मचारी आउन बाँकी रहेको छ। दैनिक जसो नियमित कार्य सुरु गरिएको छ’, उनले भने, ‘‘सोमबारदेखि बिस्तारै सेवाग्राहीहरु बढेका छन्।’
दसैंमा पाँच दिन सरकारी कार्यालय बन्द रहेका थिए। आइतबार पनि सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएपछि सोमबारदेखि मात्र नियमितरुपमा कार्यालय खुलेका हुन्। – रासस