काठमाडौं, २५ असोज। चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वविद्यालयका क्षेत्रमा सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताएका छन्। नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३ दशमलव ५ अर्ब आरएमबी उपलब्ध गराइने उनले बताए।
नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि बधाई ज्ञापन गर्दै चीनले शान्तिपूर्ण सह–अस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए।
गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै राष्ट्रपति सीले भने, ‘चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको छ। यस्तै गरी सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको छ।’
हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने समेत स्पष्ट पारे। चीनले रेल निर्माणको क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने विश्वास दिलाए।
नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्तरुपमा गर्न सकिने उल्लेख गरे।
नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने सीको भनाइ छ। चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएको स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै चिनियाँ राष्ट्रपति सीले भने, ‘नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्छ।’
नेपाललाई अन्तर्राष्ट्रिय व्यापार एक्स्पोमा सहभागी हुन आग्रह गर्दैै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताए। संरक्षणवादको विपक्षमा मिलेर काम गर्न सकिने बताउँदै एशियाली आधारभूत संरचना लगानी बैँकबाट सहयोग लिन सकिने धारणा व्यक्त गरे।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रिपति सी जिनपिङ शनिबार नेपाल आएका हुन्। दुईदिने भ्रमण सकाएर आइतबार चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। – रासस


























