काठमाण्डौँ, २५ असोज। चीनका राष्ट्रपति सी जिनपिङ आज शनिबार नेपाल भ्रमणमा आउँदैछन्। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार दिउँसो दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट हुन लागेको नेपालको राजकीय भ्रमणलाई नेपालले विशेष महत्त्व दिएको छ। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।
शनिबार विशेष विमानबाट अवतरण गरेपछि सीले केही क्षणको विश्राम लिनेछन्। त्यसपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ। शनिबार साँझ नै राष्ट्रपति सीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ। राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सी नेपाल आउने भएपछि राजधानीलाई बेहुलीझैँ सिँगारिएको छ।
सोल्टी प्लाजा क्राउन रिजर्भ
चिनियाँ राष्ट्रपति सी चिनपिङका लागि काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा रिजर्भ गरिएको छ। २८२ वटा कोठा भएको उक्त होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्।
उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द हुने भएको छ। होटल व्यवस्थापकका अनुसार शुक्रबार र शनिबारका लागि होटल पूरै बुक भएको हो। होटलले उच्च पदस्थका लागि पहिल्यै बुक भएकाले केही समय अघिदेखि नै निर्धारित मितिका लागि बुकिङ लिन छाडेको थियो।
आइतबार ११ बजेसम्मका लागि चिनियाँ राष्ट्रपति सी सोल्टीमा हुने भएकाले उक्त दिनका लागि पनि होटलले बाहिरी अरू बुकिङ लिएको छैन। सी पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। उनको भम्रण तालिकाअनुसार उनी आज (शनिबार) दिउँसो साढे चार बजे विमानस्थल अवतरण गर्नेछन्। साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तापछि सोल्टीमै रात्रिभोज कार्यक्रम राखिएको छ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र द्विपक्षीय सम्झौता गरी सी चीन फर्कनेछन्। उनको चीन फर्किने उडान १ बजेको छ। सी ओहोरदोहोर गर्न समयमा उक्त रूट पूर्ण रूपमा बन्द गरिने र उडानका समयमा पनि विमानस्थलमा अरू कुनै उडान नगरिने व्यवस्था मिलाइएको छ।