गोरखा, ०५ असोज। गोरखाको लुँइटेल भञ्जाङदेखि आँपपीपल, हर्मी हुँदै भच्चेक पुग्ने सडक १० दिनदेखि अवरुद्ध भएको छ। लगातार परेको पानीका कारण सडक भासिँदा उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो। जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भासिएर ५० मिटर तल पुगेपछि सडक यातायात अवरूद्ध भएको हो।
‘सडक भासिएपछि भदौ २६ गतेदेखि यो सडकखण्डमा सवारीसाधन पूर्णरुपमा ठप्प भएको छ,’ स्थानीय रमित ढकालले भने, ‘समयमै सडक मर्मतको काम हुन नसक्दा यात्रुले हैरानी खेप्नुपरेको छ।’ भूकम्प सहायता आयोजना कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक (एडिबी)को सहयोगमा तीन महिनाअघि मात्र उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएको थियो।
लामो समयसम्म सडक अवरुद्ध भएपछि उक्त सडकको प्रयोग गरेर आवातजावत गर्ने यात्रु हिँडेरै गन्तव्यसम्म पुग्नपर्ने बाध्यता छ। ‘मर्मतको काम अत्यन्तै सुस्त गतिमा अघि बढेको छ, दशैँको मुखमा सडक अवरुद्ध हुँदा व्यवसायीलाई समेत समस्या परेको छ,’ ढकालले भने। सडक मर्मतका लागि पालुङ्टार नगरपालिका, सडकको निर्माणकर्ता र सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ।
पालुङ्टार नगरपालिकाका इञ्जिनीयर अनुप देवकोटाले भने लगातारको वर्षाले गर्दा समयमै सडक मर्मतको काम सुरू गर्न नपाएको बताए। मौसममा सुधार आइसकेकोले अबको साताभित्रमा भत्किएको सडक पूर्णरूपमा मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए। उनका अनुसार अहिले भासिएको ठाउँमा मर्मतकार्य सुरू भइसकेको छ। ‘दसैँअघि नै काम सम्पन्न गर्ने गरी मर्मतको काम सुरु गरिएको छ,’ उनले भने। – रासस


























