चितवन, ३१ भदौ। डेंगु नियन्त्रणको लागि विभिन्न खालका प्रयास गरिए पनि चितवनमा डेंगुले भयावह रूप लिँदै गएको छ। जिल्लाका अस्पतालमा साउन महिनायता उपचार गर्न आएका बिरामीमध्ये दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दैनिक सङ्क्रमितको संख्या बढ्दै गएको छ। सरकारी र निजी अस्पताल ज्वरोका बिरामीले भरिएका छन्।
देशकै सबैभन्दा बढी डेंगु चितवनमा भेटिएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प हुने हुँदा सोहीअनुसार अघि बढ्न स्वास्थ्यसचिव डा पुष्पा चौधरीले निर्देशन दिएकी छन्।
डेङ्गुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ। जसका लागि सहयोग पुर्याउन उद्योग वाणिज्य सङ्घ चितवनले मंगलबार भरतपुर अस्पताललाई ५०० वटा कीटसमेत उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा सङ्घका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा प्रकाश खतिवडालाई कीट हस्तान्तरण गरेका हुन्।
यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो। भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन्।
यसमध्ये १५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ। अस्पतालमा निशुल्क रुपमा डेङगु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ। – रासस


























