चितवन, १५ भदौ। गत शुक्रबार नेपालगञ्जबाट दैलेखको श्रीस्थान मन्दिरतर्फ लैँजाँदै गरेका गाई गोरुको हत्या गरेको विषयलाई लिएर आइतबार विश्व हिन्दु महासंघ नेपालले चितवनमा विरोध प्रदर्शन गरेको छ। गाईको व्यवस्थापन गर्ने भन्दै भीरबाट लडाएर मारेको उनीहरुको आरोप छ। उक्त घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही गर्न सरकारसँग माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएको छ।

नेपालको राष्ट्रिय जनावरमाथि पटकपटक आक्रमण भइरहेको भन्दै उक्त घटनामा संलग्न भएकालाई तत्काल कानुनी कठघरामा उभ्याएर कडा कारवाही गर्नुपर्ने उनीहरूको माग छ। सदियौँदेखि गौमाताको रुपमा पूजा गर्दै आइरहेको गाईमाथि ठूलो आक्रमण भएको विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य टंकनाथ पौडेलले बताए।
‘यो घटनाले हिन्दू धर्ममाथि प्रहार भएको हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘यस विषयमा सरकारले ध्यान दिनु जरुरी छ।’ यदि सरकारले कारवाही गर्न नसके देशभरका ओमकार परिवार कडा आन्दोलनमा उत्रन बाध्य हुने उनको भनाइ छ। ‘किनकि ६२÷६३ को आन्दोलनपछि हिन्दू धर्मप्रति पटकपटक प्रहार भइरहेको छ,’ उनले भने।
नारायणगढ महाआरती महासंघका अध्यक्ष प्रेमनिधि भारतद्वाजले नेपालको संविधानले संरक्षित गरेका गाईको हत्या गर्नु जघन्य अपराध भएको ठहर गरे पनि घटना भने दिन प्रतिदिन बढ्दै गएकोमा आपत्ति जनाए। घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही नगरे देशभरका ओमकारजन सडकमा आउने र त्यसको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने चेतावनी दिए। गाईको सेवा गरेमा मात्रै पनि धर्म प्राप्त गर्न सकिन्छ भन्ने हिन्दू धर्मप्रति आस्था राख्नेहरूकाले बताउँछन्।

‘त्यसैले गाई मार्नु भनेको महापाप हो,’ वागेश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमका सचिव यदुनाथ पोखरेलले भने, ‘त्यसैले गाई मार्नेलाई छूट दिँदै गयो भने भोलि एकदिन नेपालबाट हिन्दू धर्म नै विलय भएर जान सक्छ।’ भरतपुरको चौबीसकोठीबाट निस्केको र्याली जिल्ला प्रहरी कार्यालय, मालपोतचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाएपछि टुंगिएको थियो।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले उक्त घटनाप्रति सरकारले ध्यानाकर्षण जनाएको जानकारी गराए। ‘गृहमन्त्रालयमार्फत उक्त घटनाबारे छानबिन समितिसमेत गठन भइसकेकोले सरकार यस विषयमा गम्भीर भएको छ,’ उनले भने।

नेपालगञ्ज उपमहानगरपालिकाबाट आठवटा ट्रकमा हालेर दैलेख लैँजाँदै गरेका करिब ३०० गाई गोरुलाई सुर्खेत पुगेपछि भीरबाट खसालेर मारेको उनीहरुको आरोप छ। तीमध्ये २३ वटा गाई गोरु मरेका र दर्जनौँ गाई गोरु घाइते भएका थिए। यस विषयमा गृहमन्त्रालयले छानबिन समिति गठन गरेर कारवाही प्रकृया अगाडि बढाएको जनाएको छ।