काठमाडौँ, ०९ भदौ। आकर्षक रोजगारी र अध्ययनको प्रलोभन देखाउँदै मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागाईँ र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो।
ब्यूरोका प्रवक्ता गोविन्द थपलियाका अनुसार आकर्षक तलब र अध्ययनको प्रलोभनमा पारेर प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। ‘काठमाडौँबाट मलेशिया हुँदै इण्डोनेसिया पुर्याइ पीडितको राहदानी, नगद तथा भिसालगायत आवश्यक कागजात नियन्त्रणमा लिएर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ,’ उनले भने।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रवक्ता थपलियाले बताए। पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ। – रासस