दाङ, ०५ भदौ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका उपकुलपति डा. सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटक–पटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै शिहीबार सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका हुन्।
फिजिसिएन डा. जीतनारायण यादव, डा. दिनेश उप्रेती, अर्थोपेडिक डा. ओम अर्याल, डा. अनिलप्रसाद यादव, डा. सागर पन्थी, रेडियोग्राफी डा. रामेश्वर देवकोटा, डा. विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा. सुरेन्द्र कुँवर, डा. राजन शाक्य, पेडियाट्रिकस डा. कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा. वसन्त लामिछाने, सर्जन डा. ईश्वरी भुसाल, याम.डि.जि.पी.डा. अमित लाम्गादे, डर्माटोलिजिष्ट डा. जेम महर्जन र कमिनिटी मेडिसियन डा. वर्षा मानन्धरले एकसाथ राजिनामा दिएका हुन्।
यस्तै मेडिकल अधिकृतहरु डा. अभ्यास पोखरेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. धना केसी, डा. प्रितम डिसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय, डा. सुर्वण बुढा र डा. मनोज यादवले पनि सँगै राजिनामा दिएका हुन्।
डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटक–पटक हस्तक्षेप गर्ने, मौखिकरुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै बिहीबार बिहानैदेखि चिकित्सकहरु आन्दोलित थिए। – रासस