काठमाडौँ, ०५ भदौ। पेट्रोलियम पदार्थमा ठगी गर्दै आएको आरोप लागेका राजधानीका दुई पेट्रोल पम्पमा शिलबन्दी गर्ने भएको छ। अन्य पम्पहरूले हालेको मुद्धालाई उच्च अदालत पाटनले खारेज गरेपछि चुच्चेपाटी फ्युल सेन्टर र मैतीदेवी पेट्रोल सप्लायर्समा पेट्रोलियम पदार्थ बेचबिखन गर्न नपाउने गरी शिलबन्दी गर्न बुधबार नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुलाई बाटो खुलेको हो।
न्यायाधीशहरू श्रवणकुमार गौतम र टेकनारायण कुँवरको संयुक्त इजलासले शिलबन्दी लगाउने निर्णयलाई कानुनसम्मत ठहर गरेर पम्पहरुको रिट खारेज गरिदिएको हो। सरकारले कालोबजारी गरेको आरोपमा २०७५ माघ ६ गते निर्णय गरी ती दुई पम्पमा त्यसको भोलिपल्टै शिलबन्दी गरेकोे थियो।
दुई पम्पविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दासमेत दायर गरेको थियो। मुद्दा विचाराधीन रहँदै ती दुई पम्पले शिलबन्दी खोल्न माग गर्दै निवेदन दिएका थिए। तर, काठमाडौँ जिल्ला अदालतले मागबमोजिम शिलबन्दी खोल्न अस्वीकार गरेको थियो। अदालतले शिलबन्दी खोल्न अस्वीकार गरेपछि ती दुई पम्पले उच्च अदालत, पाटनमा २०७६ जेठ १ गते रिट निवेदन दायर गरेका थिए।
सो अदालतका तत्कालीन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश शान्ता सेढाईंको संयुक्त इजलासले ती दुई पम्पमा लगाइएको शिलबन्दी खोल्न जेठ २ गते अन्तरिम आदेश दिएको थियो। सो बमोजिम ती निकायले निर्वाधरूपमा पेट्रोलियम पदार्थ बेचबिखन गर्दै आएका थिए।