काठमाडौँ, ०५ भदौ। सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदै गर्दा विष्णुमती खोलाको पुल सकिनेबित्तिकै बाँयातर्फ हेर्नुभयो भने एउटा रोचक दृष्य देख्नुहुन्छ। त्यहाँ एउटा पेट्रोल पम्प घरभित्रै निर्वाध सञ्चालित छ।
कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प साढे ४ तले घरको भुइँतल्लामा चलाइएको हो। घरका चार सटरमध्ये दुई सटरमा पम्पको हिसाब–किताब गर्ने डेस्क र टायर तथा लुब्रकेन्ट पसलसँगै पेट्रोल भर्ने पम्प छ। अर्को दुईवटा सटरमा रहेको एसएमएस इलेक्ट्रो कन्सर्नसँगै डिजेल पम्प छन्।
इन्धन भर्ने दुई पम्प घरको खुड्किलामा देखिएपछि सबैको प्रश्न हुन्छ, पम्पमा आउने तेलको भण्डार र सुरक्षाको लागि अतिआवश्यक पर्ने पानी भण्डारण ट्याङ्की कहाँ होला? पम्पका म्यानेजर नवराज भट्टका अनुसार पम्पको लागि आउने तेलको भण्डारणका लागि घर भित्रको ग्राउण्ड फ्लोरको कोठा प्रयोग गरिएको छ।
कोठाभित्रै बनाइएको ट्याङ्कीमा डिजेल–पेट्रोल भण्डारण हुने उनले बताए। पानी भण्डारणका लागि भने छतमा ट्याङ्की बनाइएको छ। यदि कुनै दुर्घटना भएर पम्पमा पानी चाहियो भने बाथरुमबाट पाइप लगाएर ल्याउनुपर्ने एक कर्मचारीले बताए।
पम्पले दैनिक ४ हजार लिटर पेट्रोल र २ हजार लिटर डिजेल बेच्दै आएको छ। घरमै राखिएको पम्प असुरक्षित भएको भन्दै बजारमा हल्ला भएकाले पहिलेभन्दा ब्यापार खस्किएको ती कर्मचारीले बताए।
यसरी पस्यो घरभित्र पम्प
काठमाडौं महानगरपालिका–१६ को बालाजु चोक–सोह्रखुट्टे सडकअन्र्तगतको विष्णुमती खोला पुलको आडैमा रहेको कोतः धुक आयल स्टोरका सञ्चालक स्थानीय उत्तमदास मानन्धर हुन्। मानन्धरका अनुसार पम्प २०४३ सालमा स्थापना भएको हो। सुरुमा भने पम्प घरबाहिर थियो।
मानन्धरका अनुसार उक्त पम्प सडकको मध्य विन्दुबाट ११ मिटरको दूरीमा थियो। त्यतिबेला यो दूरी र संरचनाका हिसाबले सुरक्षित एवं निगमले तोकेको मापदण्ड बमोजिमकै भएको मानन्धरको दाबी छ।
तर ०६९/७० मा सडक विस्तारको क्रम सुरु भएपछि पम्प घरभित्र पसेको हो। बालाजु चोकतर्फबाट दायाँ १८ मिटर र बायाँतर्फ १५ मिटर कायम गरेर सडक विस्तार गरिँदा १८ मिटरतर्फ परेको पम्प सडकले खाएको मानन्धरको भनाइ छ।
‘दुवैतर्फ १५/१५ मिटर गर्दा सडक साँघुरो हुने तर दुवैतर्फ १८/१८ मिटर गर्दा बायाँतर्फका घरहरुमा ठूलो क्षति पुग्ने भए पछि १५/१८ मिटर कायम गरिएको हो,’ उनले भने। सडक बिस्तारपछि मानन्धरले १८ मिटर पछि हटेर घरभित्र पम्प राखे। तर ०७१ मा घर भत्काउन र भित्र सारिएको पम्प हटाउन उपत्यका विकास प्राधिकरणले चिनो लगायो। त्यसपछि उनी पुनरावेदन अदालत पाटन गए।
अदालतको यस्तो फैसला
कोतः धुक आयल स्टोर रहेको जमिनको स्वामित्व रामकुमारी मानन्धरको नाममा छ। उनले ०७१ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, प्राधिकरणका प्रमुख, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय बबरमहल, डिभिजन सडक कार्यालय नक्साल, काठमाडौं महानगरपालिका र सडक निर्माण ठेक्का पाएको महालक्ष्मी कन्स्ट्रक्सनलाई विपक्षी बनाएर पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन्।
नागरिक अधिकार ऐन २०१२ को दफा १७ बमोजिम अदालतले निवेदकको पक्षमा फैसला गरेको थियो। ०७२ भदौ ३० गते फैसला गर्दै पुनरावेदन अदालत पाटनले घर र पेट्रोल पम्प सार्ने निर्णय नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६४ को दफा १३ को (ख) ३ बमोजिम नभएको फैसला गरेको थियो।
ऐनको मापदण्डअनुसार घर र पम्प भत्काउन प्राधिकरणले गरेको सूचना गलत भएको अदालतको ठहर छ। न्यायाधीशद्वय तिल श्रेष्ठ र मोहनबहादुर कार्कीको फैसलाले घर र पम्पलाई पुनः भत्काउन नहुने निवेदकको माग जायज भने पनि फैसलाले घरभित्र पम्प सञ्चालन गर्नु कानुनसम्मत छ वा छैन भन्ने बोलेको छैन।
के छ मापदण्ड ?
नेपाल आयल निगमको बिक्रेता विनियमावली २०६५ ले साधारण बिक्रेताले पालना गर्नुपर्ने भन्दै पेट्रोल पम्म सञ्चालनका लागि २२ वटा मापदण्ड तय गरेको छ। मापदण्ड अनुसार नगरपालिकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमिन हुनुपर्नेछ। पम्पको अगाडिको मोहोडा २० मिटर र चौडाइ १२ मिटर हुनु पर्नेछ।
इन्धन बिक्रीस्थल र सडक आरसीसी वा ढुंगा छापी सिमेन्ट जोडाइको हुनु पर्नेछ। सवारी आवतजावत गर्न बाधा नहुने गरी संरचना बनाइनु पर्छ। पक्की कम्पाउण्डले बिक्रीस्थल घेरिएको हुनु पर्नेछ भने पर्खालमा काँडेतार अनिवार्य गरिएको छ।
अग्नि सुरक्षाको लागि एक हजार लिटरको पानी ट्याङ्की, १० किलो क्षमताका फायर एक्टिङ्गग्विसर दुई थान र प्रशस्त मात्रामा बालुवा पम्पमा हुनु पर्नेछ। निगमले तोकेको मापदण्ड बालाजु चोकको कोतः धुक आयल स्टोरमा पूरा भएको छैन। पम्पको एकमिटर दूरीमै ज्योती विकास बैंकको एटीएम बुथ छ भने दुई मिटरको दूरीमा बैंक।
घरको कोठामा पम्प र कोठाभित्रै इन्धन भण्डारण गर्ने ट्याङ्की छ। पम्प भएको घरमा पम्प धनी उत्तम मानन्धरको परिवार बसोबास गर्दै आएका छन्। मुल सडकमा गाडी रोकेर सवारी चालकहरुले इन्धन भरिरहेको देख्न सकिन्छ। निगमको मापदण्डमा कल्पनै नगरिएको दृष्य यो पम्पमा जोकसैले देख्न सक्छन्।
मुद्दा विचाराधीन रहँदै पम्पलाई तेल
काठमाडौँ उपत्याका विकास प्राधिकरणको पत्रपछि ०७१ जेठ २५ गतेबाट निगमले पम्पलाई इन्धन दिन रोक्यो। तर, प्राधिकरण आफैंले पम्पलाई तेल दिन नरोक्न नेपाल आयल निगमलाई पत्राचार गर्यो। प्राधिकरणले सडकको केन्द्रबाट १५ मिटर छोडेर पम्प चलाएकाले तेल दिन कुनै बाधा नभएको पत्र निगमलाई पठाएको थियो।
मन्त्रालयको प्रस्तावअनुसार पम्पलाई इन्धन रोकेको ३ महिनापछि निगमले थानकोट डिपोलाई पत्र लेखेर प्राधिकरणको पत्रलाई आधार मान्दै अनुगमन गरेर तेल दिन पत्र पठायो। निगमका निमित्त निर्देशक ई.वीरेन्द्र गोइतको पत्रमा पम्पको स्थलगत निरीक्षण गरेर मात्रै तेल दिन भनिएको छ।
निर्देशक गोइतको पत्रमा निगमले तोकेको मापदण्ड अनुसार तेल दिनु भनिएको बुझिन्छ। तर, डिपोले पम्पको हाल रहेकै संरचनामा तेल दिन राजी भएको छ। फलस्वरूप ०७१ देखि यो पम्प घरभित्र सञ्चालनमा छ।
यदि थानकोट डिपोले स्थलगत निरीक्षणमा पम्पलाई तेल दिन जायज भएको ठानेको हो भने यहीनेर त्रुटि भएको निगम स्रोत बताउँछ। तर, पम्पको पूर्वाधारका विषयमा प्रश्न उठे पनि सुरक्षाका मामलामा कुनै कसर बाँकी नराखिएको पम्पका म्यानेजर भट्ट बताउँछन्।
Source By Onlinekhabar.com


























