काठमाडौँ, ०४ भदौ। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो सवा १२ बजे काठमाडौँ आइपुगेका उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए।
बुधबार र बिहीबार दुईदिनसम्म बैठक बस्नेछ। तर, जयशंकर भने बैठक सुरु हुनुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग दिउँसो २ बजे भेटवार्ता गर्ने कार्यक्रम छ।
त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन्। बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि बिहीबार बिहान साढे १० बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि जयशंकरको यो पहिलो नेपाल भ्रमण हो।