काठमाडौँ, ०४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै पनि १५ वर्षसम्म अखडामा रहने दाबी गरेका छन्। ‘आफूलाई ‘मरिहालोस्’ भन्नेहरूलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मरिगए हुन्थ्यो भन्ने चाहनेलाई भन्न चाहन्छु, आउँदो चुनाव पनि सामना गर्न तयार भएर बसे हुन्छ। आउँदो चुनाव अझ टफ हुनेछ, अस्तित्व रक्षाको लडाई सुरु गरे हुन्छ।’
मरिहालोस् भनेर प्रचार गर्नेहरू पछि धेरै निराश होलान् भनेर यस्तो भन्नु परेको उनले बताए। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अनेक प्रचार भएको भन्दै यस्तो खण्डन गरेका हुन्।
स्वास्थ्य परीक्षणका लागि आफू बिहीबार फेरि सिंगापुर जान लागेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन। मरिहाले हुन्थ्यो भन्छन्, अचम्म लाग्छ तर, यस्ता प्रवृत्तिसँग केही भन्नु छैन।’